रविन्द्र भट्टराई
सिन्धुली÷ दनुवार समुदायको ठुलो सांस्कृतिक नाच बड्की नाच लोप हुदै जाँदा उनीहरुको पहिचान समेत मेटिदै जाने देखिएको छ । आफ्ना कुल पितृलाई सम्झदै नाचिने बड्की नाच पछिल्लो समय लोप हुदैँ जाँदा सांस्कृतिक पहिचान समेत गुम्दै गएकोमा दनुवारका अगुवाहरुको चिन्ता छ ।
लामो फरीया, रङ्गी चङ्गी लुगा लगाउँदै विभिन्न बाध्य बाजा बजाईदै ५ देखि १० जनाको समूहमा बड्की नाच नाचिने गरिन्छ । नाचमा आफ्ना गुरु, पितृलाई सम्झिन्छ भने गुरुको बचन काट्न नहुने विश्वास गरिन्छ । जो अनुशासन र नैतिक शिक्षासँग सम्बन्धित छ । दनुवार समुदायले यो नाच परिवारमा खुशी मिल्ने, पितृहरुको स्वर्गवास हुने विश्वास पनि दनुवार समुदायका मानिसहरुले गर्छन् । दनुवार समुदायको बड्की नाच पुुर्खादेखि चलि आएको हो ।
पुस्तौंदेखि चल्दै आएको यो नाच पछिल्लो पुस्ताले आफ्नो भाषा संस्कृतिलाई वास्ता नगर्दा यस्तोे समस्या आएको दनुवार समुदायका अगुवा रामप्रसाद अधिकारी दनुवारले बताए ।
बड्की नाच नाच्दा विक्टा अर्थात रङ्गीचङ्गी लुगा नभए बड्की नाच नै नहुने वोयलाल अधिकारी दनुवारले बताए । नाच राम्रो देखिने र संस्कृती झल्काउने मुख्य नै बिक्टा रहेको बोयलालले बताए । मानिसको जन्म नै उत्तम जन्म भएकाले अब फेरी मानिस भएर जन्मिन्छ वा के हुन्छ मुसाई कुम्मरले भने बड्की नाच मार्फत मृत्यु भएकाहरुको स्वर्गवासको कामना पनि गरिन्छ । नाचगानसगैँ आफ्नो सन्ततिको सफलताको कामना गर्दै विभिन्न भाकल समेत गरिने गरिन्छ ।
अति सिमान्तकृत दनुवार जातीको मौलिक कला, संस्कृती र संस्कारको संरक्षण र संवद्र्धनका लागि बड्की मेला समेत दुधौलीमा गर्दै आएको छ । हरिवोधनी एकादशीको दिन पारेर दनुवार जागरण समाजले दनुवारहरुको संस्कृति जगेर्ना गर्ने उद्देश्यका मेला महोत्सव आयोजना गर्ने गरेको दनुवार जागरण समाजका सचिव दिनेश अधिकारी दनुवारले बताए ।
सिन्धुलीको दुधौली लगाएत कमलाखोच क्षेत्रमा मात्र २० हजार दनुवार समुदायको बसोबास रहेको छ । दुधौली नगरपालिका आदीवासी जनजाती दनुवार समुदायको आदीम स्थल हो । देशभर ८४ हजार १ सय १५ जना दनुवारको संख्या रहेको छ । तथ्यांक अनुसार सबैभन्दा बढी सिन्धुलीमा २० हजार, उदयपुरमा १८ हजार दनुवार समुदायको बसोबास छ । देशैभरमा ५३ वटा जिल्लामा दनुवारको बसोबास रहेको छ ।




















