सिन्धुली । दुर्घटनामा परि घाईते भएका कमलामाई नगरपालिकाका सरसफाई कर्मचारीको आइतबार विहान मृत्यु भएको छ । बिहान पौने चारबजेतिर सरसफाइको लागि कार्यालयतर्फ जाँदै गर्दा योद्धा गाडीको ठक्करबाट कमलामाई नगरपालिका १२ का ३५ बर्षिय शेरबहादुर खपाङ्गीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्लेका अनुसार साइकलमा सवार शेरबहादुरलाई झापाबाट काठमाडौँ जाँदै गरेको प्रदेश १–००१ च ८८२१ नम्बरको योद्धा गाडीले कमलामाई नगरपालिका ६ रातमाटाको घुम्ती नजिकै विपी राजमार्गमा ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भिर घाइते भएका खपांगीको उपचारको लागि सिन्धुली अस्पतालमा लगिएको थियो । उनलाई अस्पतालका चिकित्सकले अस्पताल पुग्नासाथ मृत घोषणा गरेको उनले बताए । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।




















