सिन्धुली । सिन्धुलीका पत्रकारहरु आइतबार कालोपट्टी बाँधेर कार्यस्थलमा खटिएका छन् । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको निर्णय र नेपाल पत्रकार महासंघ सिन्धुलीको समन्वयमा जिल्लाका पत्रकारहरुले कालोपट्टी बाँधेर काममा खटिएका हुन ।
आइतबार विहान नेपाल पत्रकार महासंघ सिन्धुलीको प्रांगणमा राजाबादी आन्दोलनमा मारिएका पत्रकार सुरेश रजकप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ ।
जिल्लाका पत्रकारहरुको उपस्थितिमा महासंघले शोक तथा विरोधको कार्यक्रम गरेको हो । जिल्लामा क्रियाशिल पत्रकारहरुले स्वर्गिय पत्रकार रजकलाई आन्दोलनका नाममा हत्या गरिएको भन्दै घटनाको उचित छानविन र दोषीलाई कारवाहिको माग गरेका छन ।
उक्त अवसरमा नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष बिमला पाण्डेले पत्रकार रजकको हत्या, पत्रकार दिनेश गौतममाथिको कुटपिट र सञ्चारमाध्यममाथि भएको तोडफोडमा संलग्नलाई कारवाहिको दायरामा ल्याउन माग गरेकी छिन । उनले क्षतिपूर्ति र पत्रकार र सञ्चारमाध्यमको उचित सुरक्षाको व्यवस्था गर्न पनि सरकारसँग माग गरेकी छिन ।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य द्वारिका काफ्लेले राजाको शासनमा पत्रकार र पत्रकारीता अत्यधिक असुरक्षित भएको र त्यसको झल्को शुक्रबारको आन्दोलनमा घटेका घटनाले देखाएको बताए । उनले पत्रकारको हत्यामा संलग्नलाई कारवाहिको दायरामा ल्याउन माग गरे ।
यस्तै नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष शेषराज दाहाल, पूर्व अध्यक्षहरु शंकर सौगात, राजकुमार कार्कीले पत्रकारको हत्यामा संलग्नलाई कारवाहि गर्न माग गरे ।
नेपाल पत्रकार महासंघ सिन्धुलीका सचिव नविनबाबु अधिकारीले पत्रकार र सञ्चारमाध्यममाथि भएको घटना दुर्भाग्यपूर्ण भएकाले उचित छानविन गरि दोषीलाई कारवाहि गर्न सरकारसँग माग गरे ।






















