सिन्धुली । नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोईरालाले संघिय निजामती ऐन कर्मचारी र ट्रेड युनियनको पक्षमा लेखिएको बताएका छन । बुधबार नेपाल निजामती कर्मचारी संगठन सिन्धुली तथा राष्ट्रसेवक सहकारी संस्थाले संयुक्त रुपमा निर्माण गरेको मनोज झपेन्द्र सुरेन्द्र स्मृति भवनको उद्घाटन गर्दै कोइरालाले संघिय निजामती कर्मचारी ऐनलाई अगाडी बढाउनुको विकल्प नरहेको बताए ।
उनले संघिय निजामती सेवा विद्येयक अगाडि बढाई पास गर्नुको विकल्प नरहेको बताएका हुन । संसदमा विचाराधिन रहेको विद्येयकमा संगठनले दिएका सुझावलाई समेट्दै छिट्टै पास हुनेमा आफु विश्वस्त रहेको समेत कोईरालाले बताए ।
सबै ट्रेड युनियनसँगको समझदारीमा संगठनले सुझाव दिईएको र सबै तहका सबै कर्मचारीको हितमा विद्येयक बनेकाले कर्मचारीको हितमा रहेको पनि उनले बताएका छन ।
उनले अन्तर प्रदेश सरुवा र अन्तर स्थानीय तह सरुवाको कुरा ऐनमा छुटेको बताउँदै उक्त कुरा उल्लेख गर्न सुझाव पेश भई सकेकाले त्यसलाई समेट्न पनि राज्य व्यवस्था समितिलाई अनुरोध गरेका छन । उनले संगठनले दिएका महत्वपूर्ण सुझाव समेटेर विद्येयक पास गर्न समेत अनुरोध गरे ।
नेकपा एमालेका सांसदले निजामती कर्मचारी सेवा विद्येयकका विषयमा दिएको अभिव्यक्तिले कर्मचारीहरुलाई त्रसित बनाएको उनले बताएका छन । नेकपा एमालेका माननीयले के बोल्नु भाको हो ? प्रधानमन्त्री ज्यूलाई भेटेर एक पटक संगठनले सोध्ने पनि उनले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले बौद्धिक वर्गको प्रतिनिधित्व निजामती कर्मचारी संगठनले गरिरहेकाले यहि वर्गको पेशागत हक अधिकारका कुरा गर्ने बताए । उनले भौतिक सम्पत्ति जोड्न सबै निजामती कर्मचारीका जिल्ला शाखाहरुलाई आग्रह गरिएको समेत बताए ।
कार्यक्रममा बोल्दै संगठनका केन्द्रीय उपाध्यक्ष भवानी दाहालले पन्ध्र भन्दा बढी जिल्लामा भवन निर्माण भएको जानकारी दिँदै संगठनको नाममा केहि गरौं भन्ने हुटहुटीले भवन निर्माण सम्पन्न भएको बताईन ।
यस्तै कार्यक्रममा बोल्दै संगठनका उपाध्यक्ष रेवन्त गौतमले संघिय निजामती सेवा ऐनले ल्याउन लागेका व्यवस्था तथा सेवा सुविधा कटौती गर्नुपर्छ भनि बहस भएको बताउँदै लोकतन्त्र, गणतन्त्रमा सबैका अधिकार सुनिश्चित हुन्छन भन्ने बेलामा भएको यो बहसले कर्मचारीहरु गम्भिर बनेको बताए ।
उनले संगठनले बनाएको घरलाई व्यवसायीक प्रयोजनका लागि समेत प्रयोग गर्दै आयवृद्धि गर्नु पर्नेमा जोड दिए । भवन निर्माणमा कर्मचारीहरुको योगदान रहेको बताउँदै भवनको मौलिकता जोगाउँदै भवनको संरक्षण गर्न संगठनलाई आग्रह गरे ।
नेपाल निजामती कर्मचारी संगठन सिन्धुलीका अध्यक्ष पदम मगरको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटी सदस्य तथा वागमति प्रदेशका पूर्व स्वास्थ्य मन्त्री प्रदीप कटुवाल, कमलामाई नगरपालिकाका उपमेयर मञ्जु देवकोटा, नेकपा एमाले सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी कृष्णमणी फुयाँल, कर्मचारी संगठनका बागमति प्रदेश उपाध्यक्ष युवराज थापा, संगठनका केन्द्रीय सचिवालय सदस्य एवम् जिल्ला इन्चार्ज पुरुषोत्तम दाहाल, पेशागत महासंघ सिन्धुलीका अध्यक्ष बविन्द्रलाल माझी, कर्मचारी मिलन केन्द्रका अजय मानन्धर, भवन निर्माण समितिका संयोजक तिलक कार्की लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाले भवन निर्माणका लागि एक लाख सहयोग समेत हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा संगठनका जिल्ला उपाध्यक्ष प्रभुराम प्याकुरेलले स्वागत गरेका थिए भने कार्यक्रमको सहजीकरण सचिव डिल्ली सौगात घिमिरेले गरेका थिए ।





















