लाम्पान्टार(सिन्धुली) । तीनपाटन गाउँपालिका सिन्धुलीको बजेट सार्वजनिकीकरण तथा बडा दशैँ, शुभ दीपावली तथा छठ पर्व २०७५ को उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
तीनपाटन गाउँपालिका अध्यक्ष कर्णबहादुर थापामगरको अध्यक्षता, संघीय सांसद गणेश कुमार पहाडीको प्रमुख आतिथ्यता तथा ३ नं. प्रदेशका सांसद प्रदीप कुमार कटुवालको विशिष्ट आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा बोल्दै संघीय सांसद गणेश कुमार पहाडीले तिनपाटन गाउँपालिका प्राकृतिक सम्पदाले भरीपूर्ण रहेको र त्यसको सही परिचालन गर्न सके समृद्ध तिनपाटन बन्न समस्या नरहेको बताए ।
देशमा तीनै तहको निर्वाचन सम्पन्न भइसकेको र देशमा स्थीर सरकार बनेकाले देश विकास निर्माणले गति लिने उनको भनाई थियो । संविधानको प्रभावकारी कार्यान्वयन गरी ‘सुखी नेपाली, समृद्ध नेपाल’ बनाउने मूल उद्देश्यका साथ सरकार लागि परिरहेकोले सरकारले जनताको अपेक्षा अनुसार काम गर्ने साँसद पहाडीले बताए ।
यसैगरी प्रदेश नं. ३ का सांसद प्रदीप कटुवालले तीनपाटन गाउँपालिकाको विकासमा प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताए । उनले आउँदै गरेको नेपालीहरुको महान चाड बडा दशैँ, शुभ दीपावली, छठ, ल्होसार जस्ता चाडपर्वको शुभकामना दिँदै नेपाल धार्मिक तथा साँस्कृतिक रुपले भरिपूर्ण देश रहेको बताए ।
यसैगरी कार्यक्रमका अध्यक्ष तथा तीनपाटन गाउँपालिकाका अध्यक्ष कर्णबहादुर थापाले देशमा स्थीर सरकार बनेको सन्दर्भमा पार्टीगत धारणाभन्दा माथि उठेर समृद्ध तिनपाटन बनाउन प्रदेश र केन्द्र सरकारले उचित मार्गदर्शन प्रदा गर्नुपर्ने बताए । यसैगरी उनले पार्टीका नेताहरुले पनि काम गर्ने सन्दर्भमा अनावश्यक दवाद दिनु नहुने बताए ।
कार्यक्रममा तीनपाटन गाउँपालिकाको बजेट निर्धारण गर्दाका निर्धारकहरुबारे स्पष्ट पार्दै तीनपाटन गाउँपालिकाकी उपाध्यक्ष पदम माया तामाङले बजेटका सन्दर्भमा र आफूहरुले काम गर्दै गर्दाका सन्दर्भमा केही गल्तीहरु भएका भए आगामी दिनमा सुधार गर्दै अगाडी बढ्ने बताइन् ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य विषमलाल अधिकारी, नेकपा तिनपाटनका अध्यक्ष छत्र दाहाल, नेकपाका नेता डम्बर कार्की, अशोक पुलामी, नेपाली काँग्रेसका नेता माणिक कुमार ढकाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा तीनपाटन गाउँपालिकाको बजेट पुस्तीका समेत वितरण गरिएको थियो ।























