सिन्धुली/सुनकोशी गाउँपालिका ५ रिठ्ठेभिरमा शुक्रबार दिउँसो यात्रुबाहक बस दुर्घटना भएको छ । दुर्घटनामा परि एक जनाको घटनास्थलमै र २ जनाको धुलिखेल अस्पताल लाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सुनकोशि गाउँपालिका–८ सिन्धुपाल्चोकका २९ वर्षिय रवि भण्डारी, मरिण गाउँपालिका–७ का चालक २९ वर्षिय राजकुमार लामा र राजकुमारका भाई २३ वर्षिय अमित लामा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
मृतकमध्ये भण्डारीको घट्ना स्थलमै र लामाद्वयको उपचारको लागी धुलिखेल अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रामेश्वर प्रसाद यादवले बताए । सिन्धुलीको मरिणबाट काठमाडौँ जाँदै गरेको ना ६ख९१२ नम्बरको बासुकी यातायातको बस विपि राजमार्ग अन्र्तगत पर्ने सिन्धुलीको सुनकोशि गाउँपालिका ५, रिठ्ठे भिरबाट सुनकोशी नदीमा खस्दा खसेको हो ।
दुर्घटनामा परि अन्य ४ जना घाईते भएको जिल्ला प्रहरी कार्यालयका एसपी यादवले बताए । घाईते हुनेहरुमा गोरखा पाल्सी बजारका हरी दाहाल, सिन्धुली पाल्चोक बलेफु–८ का रोहित पराजुली, रामेछाप खाडादेवि गाउँपालिका–५ का दिर्घ मोक्तान र मरिण गाउँपालिकाका आशिस लामा रहेको यादवले बताए । गाडीका सहचालक विजय कुमार थोकर भने शकुसल रहेको यादवले बताए ।
दशैको वेलामा गाउँबाट राजधानी जाने मानिसको चाप कम हुने भएकाले मानविय क्षति कम भएको यादवले बताए । गाडीमा जम्मा ८ जना मात्र यात्रु रहेको पनि उनले बताए । मरिणबाट काठमाडौँ हिँडेको बस तिव्र गति वा स्टिरिङमा आएको समस्याका कारण अनियन्त्रि भई दुर्घटना भएको हुन सक्ने यादवले बताए ।
शुक्रबार बस दुर्घटना भएको स्थान नजिकै आज भन्दा ७ वर्ष अघि आजकै दिन सिन्धुलीबाट काठमाण्डौंतर्फ गएको यात्रुबाहक बस दुर्घटना हुँदा ४३ जनाको ज्यान गएको थियो । वीपी राजमार्ग निर्माणधिन अवस्थामै २०६७ साल असोज २६ गतेका दिन बस दुर्घटना हुँदा ४१ जनाको घटना स्थलमै र २ जनाको उपचारको क्रममा मृत्यु भएको थियो ।





















