सिन्धुली । हरिबोधनी एकादशी तथा तुलसी विवाह, बडकी एकादशी, ठूली एकादशीको दिन आज (मंगलबार) सिन्धुलीका तीन वटा स्थानीय तहले बिदा दिएका छन् । जिल्लाको दुधौली नगरपालिका, कमलामाई नगरपालिका र हरिहरपुरगढी गाउँपालिकाले बिदा दिएका हुन् ।

दनुवार समुदायको बाहुल्यता रहेका यी स्थानीय तहमा बड्की एकादशी मनाउने प्रचलन रहेको छ । वड्की एकादशीको अवसरमा विशेष गरि दुधौली र हरिहरपुरगढीमा मेलाको समेत आयोजना गरिएको छ ।
दनुवार समदायले बर्की एकादशी आफ्नो संस्कारअनुसार चार दिनसम्म मनाउँने गर्दछन् । दनुवारको मौलिक कला, दनुवारी भाषा, संस्कृति र संस्कारको संरक्षण तथा संवर्धनका लागि जिल्लामै दनुवार समुदायको बाहुल्यता भएको दूधौली नगरपालिकाले बर्की एकादशी पर्वको तेस्रो अर्थात् मुख्य दिन विदा दिएको हो ।
दुधौली नगरपालिकाले २०७५ सालदेखि वर्षेनी बड्की एकादशीमा सार्वजनिक बिदा दिँदै आएको छ । यस दिन नगरपालिका अन्तर्गतका सरकारी कार्यालय, विद्यालय, संघसंस्थामा सार्वजनिक बिदा रहेको दुधौली नगरपालिकाले जनाएको छ ।
त्यसैगरी हरिहरपुरगढी गाउँपालिकाको कात्तिक २४ गते बसेको कार्यपालिका बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यस्तै कमलामाई नगरपालिकाले भने दनुवार समुदायका कर्मचारीहरुलाई मात्र मंगलबार विदा दिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराईले जारी गरेको सूचनामा उल्लेख छ ।
लोपन्मुख जातिमा सूचीकृत दनुवार समुदायको धर्म संस्कृति जगेर्ना गर्नु स्थानीय सरकारको दायित्व भएको भन्दै स्थानीय तहले विदा दिएका हुन ।




















