सिन्धुली । रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण तीन जना पत्रकार तथा नौ जना पत्रकारका परिवारका सदस्य सम्पर्कविहीन भएको सूचना प्राप्त भएको छ । नेपाल पत्रकार महासंघले पत्रकार र पत्रकारका परिवारको खोजी र उद्धारका कार्य तिव्र बनाउन सरकारसमक्ष आग्रह गरेको छ ।
महासंघले बुधबार जारी गरेको पहिलो प्रेस विज्ञप्ति मार्फत समाचार संकलनका क्रममा केरुङतर्फ गएका महासंघका पूर्व केन्द्रीय सदस्य टेकराज थामी सम्पर्क विहीन भएको जनाएको छ । त्यसैगरी नुवाकोटको विदुर–७ का पत्रकार निराजन पौडेलका परिवारका पाँच सदस्य बुबा, आमा, काका, काकी र बहिनी—बाढीपछि सम्पर्क विहीन भएको उल्लेख गरेको छ ।
यस्तै, दोस्रो विज्ञप्तीमा मानसरोवर तीर्थयात्रामा गएका पत्रकार शेखर ढुंगाना र उनकी पत्नी भदौ १० गतेदेखि सम्पर्कविहीन रहेको महासंघले जनाएको छ भने शिलापथ डटकमका प्रकाशक सुरेश सिंखडा, उनकी आमा र दिदी पनि सम्पर्क विहीन भएको महासंघले जनाएको छ ।
महासंघले सम्पर्क विहीन पत्रकार र पत्रकारका परिवारजनको खोजी तथा उद्धारमा सम्बन्धित सबै निकायले उच्च प्राथमिकताका साथ काम गर्नुपर्ने माग गरेको छ । साथै बाढी प्रभावित क्षेत्रमा विद्युत् र सञ्चार सेवा अवरुद्ध हुँदा सञ्चारमाध्यम सञ्चालनमा गम्भीर असर परेको उल्लेख गर्दै सञ्चार सेवा तत्काल नियमित गर्न तथा वैकल्पिक सञ्चार व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ ।
महासंघले बाढी प्रभावित क्षेत्रमा रहेका सञ्चारकर्मीको सुरक्षा, खोजी तथा उद्धारका लागि आवश्यक समन्वय र सहयोग जारी राख्ने जनाएको छ ।




















