सिन्धुली । सिन्धुलीका तीन ठाउँमा जेनजीको प्रदर्शन भईरहेको छ । मंगलबार जिल्लाको सदरमुकाम सिन्धुलीमाढी, दुधौली र खुर्कोटमा जेनजीको आन्दोलन भईरहेको हो ।
खुर्कोट र सिन्धुलीमाढीमा विपी राजमार्ग अवरुद्ध भएको छ । दुधौलीमा मदनभण्डारी राजमार्ग अवरुद्ध छ । युवा, विद्यार्थीहरु आक्रोशित छन । उनीहरुले प्रधानमन्त्री केपी ओलीको राजिनामा मागेर नारावाजी गरेका छन ।
विहान दशबजेदेखि नै उनीहरु सडकमा छन । पानी पर्दा समेत उनीहरुले सडक छोडेका छैनन । जिल्ला प्रशासन अगाडि केहि बेर धर्ना समेत बसेका आन्दोलनरत युवाहरुले सिन्धुलीमाढी बजार बन्द गराउने तयारीमा छन ।
खुर्कोटमा रहेको नेकपा एमाले गोलञ्जोर गाउँकमिटीको वडा कार्यालयको बोर्ड, कार्यालय भित्रका कुर्सी समेत फालेका छन ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार १ बजेसम्म जिल्लाभित्रको आन्दोलन शान्तीपूर्ण रहेको छ । उनीहरुले दिउँसो जिल्लामा रहेका एमाले, माओवादी र नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालय अगाडि नारावाजी गरेका छन ।





















