सिन्धुली । प्रहरीले आइतबार बिल नभएको खाद्य सामग्री बरामद गरेको छ । कमलामाई नगरपालिका ९ भिमानमा रहेको चेकपोष्टबाट प्रहरीले उक्त सामग्री बरामद गरेको हो ।
महोत्तरीको बर्दिबासबाट सिन्धुलीको चकमकेतर्फ जाँदै गरको ना.६ ख ९५५५ नम्बरको बसलाई चेक जाँच गर्ने क्रममा उक्त गाडीको छतमा ल्याईएको ३५० किलो चिनी, १ सय किलो केराउ र २४ कार्टुन माउन्टेन ड्यु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक बाबुराम कार्कीका अनुसार ७७ हजार ४ सय पचास रुपैंया बराबरको सामान बरामद भएको छ । बरामद गरिएका सामानहरु कानुनी प्रक्रिया पुरा गरी आवश्यक कारबाहीको लागि भन्सार कार्यालय जलेश्वर, महोत्तरी पठाईएको कार्कीले जानकारी दिएका छन ।





















