सिन्धुली । आफैले चलाएको ट्याक्टर दुर्घटना हुँदा घाईते भई उपचारका क्रममा रहेका कमलामाई नगरपालिका वडा नं. १ का निर्वाचित वडा सदस्य केशव बहादुर माझीको आइतबार निधन भएको छ । माझीको काठमान्डौमा उपचारका क्रममा निधन भएको हो ।
वडा सदस्य माझीको निधनमा आइतबार कमलामाई नगरपालिकाले शोक विदा दिएको छ । नगरपालिकाले सूचना जारी गरि नगरपालिकाका मातहतका कार्यालयहरु तथा शैक्षिक संस्थाहरुमा शोक विदा दिएको हो ।
माझीको निधनमा मेयर उपेन्द्र पोखरेलको आदेशमा शोक विदा दिईएको नगरपालिकाले जारी गरेको समवेदना पत्रमा उल्लेख गरिएको छ । विद्यार्थी विद्यालय पुगेपछि अर्थात ९ बजे नगरपालिकाले सूचना जारी गरेको थियो । विद्यालयमा पुगेका विद्यार्थीहरु नगरपालिकाको विदा घोषणाले सबै फिर्ता भएका छन । जारी समवेदना पत्रमा निमित्त प्रमुख प्रशासकीय अधिकृत सागर कुमार ढकालले हस्ताक्षर गरेका छन ।
माझी स्थानीय तह निर्वाचन २०७९ मा नेपाली कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए । स्वर्गीय माझीको निधनमा शोक मनाउन आज कमलामाई नगरपालिका तथा मातहतका कार्यालयहरू एवं शैक्षिक संस्थाहरू सबै बन्द रहने निमित्त प्रमुख प्रशासकीय अधिकृत सागर कुमार ढकालले जारी गरेको सुचनामा जनाईएको छ ।
२०८१ माघ २० गते सिन्धुलीबाट मरिणतर्फ जाँदै गर्दा मदनभण्डारी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका वडा नं. १ बलौठामा दुर्घटना भएको थियो । रड र सिमेन्ट बोकेको ट्याक्टरको ट्रेलर खुस्किएपछि दुर्घटना भएको थियो । दुर्घटनामा परि अर्का बालक अर्जुन माझी समेत घाईते भएका थिए ।





















