सिन्धुली । बिल बिजक बिनाको ४२ लाख ३६ हजार बराबरको सामान प्रहरीले बरामद गरेको छ । भिमान प्रहरी चेकपोष्टमा विहिबार चेकजाँच गर्ने क्रममा विल विजक विनाको सामान प्रहरीले बरामद गरेको हो । प्रहरीले सामान बोकेको ट्रक र उक्त ट्रकमा रहेका विल विनाका सामान बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्लेका अनुसार प्रहरीले चिनी, काजु, छोगडा, सुपारी, कालो मरिच, सेतो मरिच लगाएत बरामद गरेको छ ।
प्रहरीले ५० किलोको १५० बोरा चिनी ६ लाख ७५ हजार बराबरको बरामद गरेको छ । यस्तै काजु ३० किलोको पचास बोरा ८ लाख बजार मुल्य बराबरको, छोगडा ५० किलोको ११ बोरा १ लाख ६५ हजार बराबरको, सुपारी ८० किलोको ६ बोरा ३ लाख ८४ हजार रुपैंया मुल्य बराबरको बरामद गरेको छ ।
त्यस्तै प्रहरीले ७२ हजार रुपैंया बराबरको कालो मरिच ३० किलोको २ बोरा, ६ लाख ४० हजार बराबरको सेतो मरिच २५ केजीको १६ बोरा बरामद गरेको जनाएको छ ।
प्रहरीले विना बिल विजकको सामान बोकेको म.प्र.०३–०२२ज०३०६ नम्बरको ट्रक समेत नियन्त्रणमा लिएको छ । जसको मुल्य १५ लाख अनुमान गरिएको छ । नियन्त्रणमा लिएको ट्रक र बरामद गरिएको सामान विहिबार राती नै राजस्व अनुसन्धान कार्यालय पथलैया पठाईएको काफ्लेले बताए ।





















