सिन्धुली । राष्ट्रिय युवा संघ नेपाल सिन्धुलीको नवौं अधिवेशन यहि भदौ १७ र १८ गते सिन्धुलीमाढीमा हुने भएको छ । युवा संघ सिन्धुलीले सिन्धुलीमाढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै अधिवेशनको तयारी पुरा भएको जनाएको छ ।
सम्मेलन आयोजक कमिटीका संयोजक मिजास कार्कीले अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको बताए । उनले अधिवेशनको उद्घाटनका लागि नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम राष्ट्रिय युवा संघका पूर्व अध्यक्ष महेश बस्नेत सिन्धुली आउने बताए ।
अधिवेशनमा जिल्लाका सबै वडाबाट १/१ जना प्रतिनिधि रहनेछन । ८१ जना आयोजक कमिटी र प्रत्येक पालिका कमिटीबाट ३ जना प्रतिनिधि गरि १८७ जना प्रतिनिधिहरु अधिवेशनमा सहभागि हुने छन ।
नेतृत्व चयनमा सहमतिको प्रयास गरिने र सहमति जुट्न नसके निर्वाचन प्रक्रिया मार्फत गरिने समेत आयोजकले जनाएको छ ।
विभिन्न उपसमितिहरु बनाई सम्मेलनको तयारीको काम गरिरहेको संयोजक कार्कीले पत्रकार सम्मेलनमा जानकारी दिएका छन ।
युवा संघले आर्थिक मन्दीको प्रभावलाई मध्येनजर गर्दै चन्दा संकलनलाई अधिवेशनमा प्राथमिकता नदिई प्रतिनिधि तथा आयोजकबाटै आर्थिक व्यवस्थापन गर्ने जनाएको छ ।
अधिवेशन सम्पन्न गर्न २ लाख ५० हजार लागत लाग्ने अनुमान आयोजकको छ । यस्तै गाउँपालिका तथा नगरपालिकाका कमिटीहरुलाई तोकिएको दायित्व समेत सम्मेलनका लागि खर्च गरिने भएको युवा संघका आर्थिक व्यवस्थापन कमिटीका संयोजक छवि पाख्रिनले बताए । उनले स्वेच्छाले सहयोग गर्ने सहयोगदाताले पनि सम्मेलनमा आर्थिक सहयोग गर्न खुला गरिएको बताए ।





















