सिन्धुली । सिन्धुलीलाई आइतबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्ला समन्वय समिति, सिन्धुलीका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक कारसाङ लामाको अध्यक्षता तथा बाग्मति प्रदेशका मुख्य मन्त्री शालिकराम जमरकट्टेलको प्रमुख आतिथ्यतामा सिन्धुलीमाढीमा भएको कार्यक्रममा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।
प्रमुख अतिथि जमरकट्टेलले जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा भएको उद्घोष गरे । खोप समन्वय समितिका संयोजक लामा र प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले मुख्य मन्त्री जमरकट्टेललाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाका लागि प्रस्ताव गरेका थिए ।
जिल्लाका नौैैै वटा पालिकाका ७९ वडाका १६ महिनादेखि ५९ महिनासम्मका १४ हजार ३९२ जना बालबालिकाहरुलाई प्राण घातक रोगहरुबाट बचाउन राष्ट्रिय खोप तालिका अनुसार १३ प्रकारका खोपहरु लगाई सकेकाले पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।
स्थानीय श्रोत उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता तथा दिगोपना हाम्रो प्रतिवद्धता भन्ने मुल नाराका साथ आयोजित घोषणा कार्यक्रममा स्थानीय तहको वार्षिक कार्यक्रममा समावेश गरि हरेक वर्ष सबै बालबालिकाहरुले पूर्ण खोप पाएका सुनिश्चितता गर्ने प्रतिवद्धता सहित नौ वटै स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा अन्य सरोकारवालाले हस्ताक्षर समेत गरेका छन ।
कमलामाई नगरपालिकामा तीन हजार ५८८ जना, दुधौली नगरपालिकामा तीन हजार ३७१ जना, सुनकोसी गाउँपालिकामा ६५८ जना, मरिण गाउँपालिकामा एक हजार ५६९ जना, गोलञ्जोर गाउँपालिकामा ९४२ जना, हरिहरपुरगढी गाँउपालिकामा एक हजार ८९ जना, तीनपाटन गाँउपालिकामा एकहजार ५७४ जना, फिक्कल गाउँपालिकामा ७६३ जना र घ्याङलेख गाउँपालिकामा ८३८ जना गरि जिल्लाका १४ हजार ३९२ बालबालिकाले पूर्ण खोप लगाएका छन ।





















