सिन्धुली । जिल्लामा जोडिएका राजमार्गका सडक छेउँमा अतिक्रमण गरि बनाईएका संरचनाहरु तथा सम्बन्धित निकायबाट स्वीकृति नलिई निर्माणाधिन वा निर्माण सम्पन्न भएका संरचनाहरु हटाउन सम्बन्धित आयोजनालाई अनुरोध गर्ने निर्णय भएको छ । राजमार्ग (सडक) मा हुने अवरोध हटाउन गर्नुपर्ने सुरक्षा कारवाहिको कार्यविधि २०७५ बमोजिम जिल्ला स्तरीय समन्वय समिति र यातायात व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
सञ्चालनमा रहेको विपी राजमार्ग र निर्माणाधिन मदनभण्डारी राजमार्ग, मध्यपहाडी लोकमार्ग लगाएतका राजमार्ग आसपासका अवरोधहरु हटाई बढिरहेको दुर्घटना कम गर्न उक्त निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी योगेन्द्र पाण्डेले बताएका छन । उनका अनुसार बैठकले सार्वजनिक सडकको आवागमनमा बाधा पु¥याउने गरि राखिएका निर्माण सामग्री लगाएत अन्य सामग्रीहरु हटाउन सम्बन्धित स्थानीय तहलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
बैठकले विपी राजमार्गमा अत्यधिक खाल्डा खुल्डी रहेको र सवारी दुर्घटनाको जोखिम बढेकाले उक्त सडक मर्मत गर्न, विपी राजमार्ग छेउँमा अत्यधिक वस्ती रहेको र प्राकृतिक विपदको समेत सम्भावना रहेका आयोजनालाई अनुरोध गर्ने निर्णय गरेको छ ।
टाइम कार्डलाई निरन्तरता
प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेको अध्यक्षतामा बसेको बैठकले विपी राजमार्गमा लगाईएको टाईम कार्डलाई निरन्तरता दिने निर्णय गरेको छ । सवारी साधनको सुरक्षित सञ्चालनलाई प्रभावकारी बनाउन, ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन र ओभर स्पिड नियन्त्रण गर्न टाइम कार्डलाई निरन्तरता दिने निर्णय गरिएको हो ।
बैठकले यातायात व्यवस्था सेवा कार्यालय बर्दिवासले टेम्पो सञ्चालनका लागि रुट प्रमिट दिदा सिन्धुली जिल्ला भरी र अन्तर जिल्ला समेत चल्न पाउने गरि जारी गर्ने प्रचलन रहेको तर विपी राजमार्ग अत्यन्त साँघुरो रहेको र दुर्घटनाको जोखिम बढेकाले कमलामाई नगरपालिका वडा नं. ४ चियावारीदेखि खुर्कोटसम्म चल्न नपाउने गरि र जिल्लाका अन्य भागमा निश्चित स्थान तोकी इजाजत दिन यातायात व्यवस्था सेवा कार्यालय वर्दिवासलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले जिल्ला भित्र सवारी साधान चल्न सक्ने कच्चि, पक्कि, धुले सडकको विवरण अध्यावधिक गरि डिभिजन सडक कार्यालय खुर्कोटले एक महिनाभित्र जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा जानकारी गराउनु पर्ने निर्णय गरेको छ ।
भाडा निर्धारणका लागि समिति
जिल्ला भित्रका सडकहरु केहि स्तरोन्नती भएको र पुरानै भाडादर कायम भएको पाईएको छ । सिन्धुलीमाढीबाट दुधौली जाने सडक, सिन्धुलीमाढीबाट मरिण हुदै हरिहरपुरगढी जाने सडक र सिन्धुलीमाढीबाट भालुमारा जाने सडक स्तारेन्नती भएको र पुरानै भाडादरमा १० प्रतिशत थपि भाडा लिने गरेको पाईएको हो ।
बैठकले ती क्षेत्रमा नयाँ भाडादर कायम गर्न, सडकको अवस्था अध्ययन गरी सिफारिस गर्नका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको छ । बैज्ञानिक भाडादर कायम गर्न बनेको उक्त समितिमा सडक डिभिजन कार्यालय खुर्कोट, यातायात व्यवस्था सेवा कार्यालय वर्दिवास, यातायात व्यवसायी संघ र ट्राफिक प्रहरी कार्यालय सिन्धुली प्रतिनिधि रहने निर्णय गरिएको हो ।
वैठकले सडक अवरोध हटाउन आवश्यक पर्ने आवश्यक सामग्रीको सूचि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीबाट लिई ती सामग्री उपलब्धताका लागि स्थानीय तहसँग समन्वय गर्ने निर्णय समेत गरेको छ ।





















