सिन्धुली । सुनकोशी गाउँपालिकाले स्थानीय पाठ्यक्रम बनाउने भएको छ । गाउँपालिकाले पाठ्यक्रम निर्माणको पूर्व तयारी स्वरुप कार्यदलको समेत निर्माण गरेको छ । रामचन्द्र आचार्यको संयोजकत्वमा कार्यदल निर्माण गरिएको सुनकोशी गाउँपालिकाका शाखा अधिकृत ओम प्रसाद गौतमले जनाएका छन ।

बुधबार गाउँ शिक्षा समितिले गरेको निर्णय सार्वजनिक गर्दै शाखा अधिकृत गौतमले उक्त जानकारी दिएका हुन ।
यस्तै गाउँपालिकाले वैकल्पिक प्रणालीबाट विद्यार्थीहरुको सिकाईमा सहजीकरण गर्ने भएको छ । जसका लागि वडा शिक्षा समितिहरुको सहयोगमा स्थानीय शिक्षकहरु, अविभावकहरु, रेडियो टेलिभिजनको प्रयोग गर्ने भएको छ ।
यस्तै गाउँपालिकाले विभिन्न विद्यालयलाई आठ ल्यापटप, आठ वटा प्रोजेक्टर र ११ वटा प्रिन्टर प्रदान गर्ने निर्णय गरेको छ । गाउँपालिकाले सात विद्यालयको कक्षा अपग्रेड गर्ने निर्णय समेत गरेको छ ।
गाउँपालिकाको जेठ २२ गते बसेको बैठकले सो निर्णय गरेको हो । शिक्षा शाखाले बुधबार जारी गरेको विज्ञप्ति अनुसार गाउँ शिक्षा समितिको बैठकले ओद्रेकोटस्थित पञ्चकन्या स्कुल र प्रगती इङ्लिस स्कुललाई कक्षा १० सम्मको अनुमति दिएको छ ।
पशुपति आवासिय विद्यालय र श्री आवासिय विद्यालय घ्याम्पाटारलाई कक्षा ८ सञ्चालनको अनुमति दिएको छ भने आदिलिङ्ग कुशेश्वर गुरुकुलम र फाइभ स्टार बोर्डिङलाई कक्षा सात र प्राथमिक विद्यालय खानीगाउँलाई कक्षा छ सम्म अध्यापनको अनुमति दिइएको छ ।



















