सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ६ शिवनगरमा रहेको भु तथा जलाधार व्यवस्थापन कार्यालयको भवनमा ३९ वेडको क्वारेन्टाईन बुधबार देखि सञ्चालनमा आएको छ । कमलामाई नगरपालिका, नेपाली सेनाको वर्द बहादुर गण, नेपाल रेडक्रस सोसाईटी सिन्धुली तथा सिन्धुली अस्पतालको समन्वयमा क्वारेन्टाईन निर्माण भएको हो ।

क्वारेन्टाईन डब्लुएचओको न्युनतम मापदण्ड पुरा गरि निर्माण गरिएको वर्द बहादुर गणका गणपति राजिव थापाले बताए ।
यसैबीच क्वारेन्टाईनमा खानेपानीको व्यवस्थापनको जिम्मा सिद्धेश्वर खानेपानी सरसफाई उपभोक्ता संस्थाले लिएको छ ।
को को छन क्वारेन्टाईन व्यवस्थापन समितिमा ?
सहायक प्रमुख जिल्ला अधिकारी विजया प्रसाईको संयोजकत्वमा गठित समितिमा वर्द बहादुर गणका सेनानी राजाराम खड्का, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक सन्तोष पोखरेल, सिन्धुली अस्पतालका मेडिकल सुपरिटेन्डेन लक्ष्मण खड्का, नेपाल रेडक्रस सोसाईटीका सभापति अशोक श्रेष्ठ, कमलामाई नगरपालिका वडा नं. ६ का वडाध्यक्ष उज्वल थापा, स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाह, कमलामाई नगरपालिका स्वास्थ्य शाखा प्रमुख केम थापा, राष्ट्रिय अनुसन्धानका अधिकृत प्रतिनिधि, शसस्त्र प्रहरी बलका अधिकृत प्रतिनिधि सदस्य रहने गरि समिति निर्माण गरिएको छ ।
क्वारेन्टाईनमा राखिने व्यक्तिहरुलाई खाना, पानी, सरसफाई तथा पाले पहरा लगाएतका व्यवस्थापनको जिम्मा कमलामाई नगरपालिकालाई दिने उक्त समितिले निर्णय समेत गरेको छ । अन्य व्यवस्थापन कार्यविधि अनुसार हुने पनि निर्णय गरिएको छ ।
यस्तै समितिले सबै स्थानीय तहका वडामा वडास्तरीय क्वारेन्टाई समिति निर्माण गर्ने समेत निर्णय गरेको छ । वडा स्तरमा वडाध्यक्षको संयोजकत्वमा समिति बन्ने भएको हो । बनेका वडा समितिले जिल्ला समितिसँगको समन्वयमा काम गर्ने समेत निर्णय गरेको छ ।



















