सिन्धुली । कमलामाई नगरपालिका अन्तर्गत सञ्चालन हुदै आएका ४ स्थानका हाटबजार बन्द गरिएको छ । नागरिक समाज, सञ्चार र सरोकारवालाको अनुरोध पछि जिल्लाका कनपा ९ भिमान, कनपा ६ को जनता हाटबजार, कनपा ६ को धुराफाँटमा लाग्दै आएको बुधबारे हाट र कनपा १२ जरायोटारमा लाग्ने हाट बजार चैत मसान्तसम्मका लागि बन्द गरिएको हो ।

कमलामाई नगरपालिकाका मेयर खड्ग खत्री, सहायक प्रमुख जिल्ला अधिकारी विजया प्रसाई, सुरक्षा निकायका प्रमुखहरु, उपभोक्ता हित संरक्षणमा काम गर्ने संघसंस्थाका प्रतिनिधिहरु, पत्रकार, नागरिक समाज, उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ लगाएतको उपस्थितिमा बैठक बसी उक्त निर्णय गरिएको हो ।
उक्त बैठकले कमलामाई नगरपालिका क्षेत्रमा बाहिरबाट आयातित माछा, मासु, अण्डा लगाएतका मासुजन्य पदार्थहरको आयातलाई चैत मसान्तसम्मका लागि आयात रोक्ने निर्णय समेत गरेको छ । जसको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय प्रशासनलाई अनुरोध गर्ने निर्णय गरिएको छ । जसको कार्यान्वयन आइतबारदेखि गरिने भएको छ ।
यस्तै नगर क्षेत्र भित्र २५ जना भन्दा बढी उपस्थित, जमघट हुने बजार, पर्व, भेला, धार्मिक एवम संस्कारगत अनुष्ठानहरु सञ्चालन नगर्ने र गर्न नदिने निर्णय गरेको छ ।
बजार अनुगमन तिव्र पारिने
यसै गरि बैठकले बजार अनुगमनलाई शसक्त बनाउने भएको छ । बजारमा कृतिम अभाव हुन नदिन, खाद्य पदार्थ, ग्याँस, पेट्रोलिय पदार्थको अभाव हुन नदिन र लुकाएर कालोबजारी गर्न नदिन बजार अनुगमनलाई तिव्र बनाईने भएको हो । कृतिम अभाव सिर्जना गर्ने र अखाद्य गुणस्तर गुम्ने गरि भण्डारण गरिएको बस्तुहरु विक्री वितरण गरेको पाईएमा त्यस्ता वस्तु तत्कालै नष्ट गरि त्यस्ता व्यवसायीलाई कारवाहि गर्ने निर्णय गरिएको छ ।
स्वास्थ्य प्रमाणपत्र विना वास नदिने
कमलामार्ई नगरपालिका भित्रका होटलहरुमा आउने विदेशी पाहुनालाई स्वस्थ रहेको प्रमाणपत्र विना बास नदिईने भएको छ । बैठकको निर्णय अनुसार आरोग्यताको प्रमाणपत्र विना आएका पाहुनालाई फिर्ता गरिने र विदेशी पाहुना राख्नका लागि नगरपालिका वा स्थानीय प्रशासनलाई जानकारी गराउनुपर्ने भएको हो ।



















