सिन्धुली । साउथ कोरियाको चिन्जु नेशनल विश्वविद्यालय र कमलामाई नगरपालिका–४ का सामुदायिक विद्यालयवीच शैक्षिक अुनभव आदान–प्रदान गरिएको छ ।
समग्र कमलामाई नगरपालिकाको शैक्षिक विकासमा साउथ कोरियाको चिन्जु विश्वविद्यालयले प्राविधिक सहयोग तथा शिक्षाको सन्दर्भमा विद्यार्थी शिक्षक अनुभव आदानप्रदान गर्ने सम्झौता बमोजिम कमलामाईका ९ वटा विद्यालयका ९ जना शिक्षकहरुलाई गणित, विज्ञान, र लैंगिक समता सम्बन्धी तालिम दिइएको कार्यक्रम संहजकर्ता जगतबहादुर आलेले बताएका छन ।

विश्वविद्यालयको तर्फबाट कार्यक्रमको संयोजन प्रोफेसर डाक्टर योङकी होङले गरेका थिए । उनले शैक्षिक आदान प्रदानको अन्त्यमा नगरभित्रका विद्यालयमा आगामी दिनमा पनि थप शैक्षिक अनुभव आदान प्रदान, प्रविधि सहयोग, पाठ्यक्रम विकासमा सहयोग तथा समग्र शैक्षिक सुधारको लागि पहल गर्ने बताए ।
कार्यक्रममा बोल्दै नगरप्रमुख खड्ग बहादुर खत्रीले यस किसिमको शैक्षिक आदान प्रदानले नगरको शैक्षिक सुधारमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । कार्यक्रममा बोल्दै नगर शिक्षा प्रमुख शंकरराज लुइटेलले नगरको शिक्षालाई बालमैत्री, प्रविधि मैत्री र आधुनिक उन्मुख बनाउन यस किसिमको कार्यक्रमले मद्दत गर्ने बताए ।



















