सिन्धुली/प्रदेश नं. ३ का प्रदेशसभा सदस्य राजन दाहालले मानवअधिकार समाजवादमा मात्र संरक्षण हुने बताएका छन । जिल्ला स्तरीय मानवअधिकार सञ्जालको आयोजना तथा ओरेक नेपाल सिन्धुलीको साझेदारीमा विश्व मानवअधिकार दिवसका अवसरमा सिन्धुलीमाढीमा आयोजित ‘मानवअधिकार संरक्षणमा विद्यार्थीको भूमिका’ विषयक वक्तृत्वकला कार्यक्रममा बोल्दै दाहालले यस्तो बताएका हुन ।
उनले भनेका छन, ‘जतिबेला समाजमा अज्ञानता र अभाव हट्छ, विभेद हट्छ, समानता कायम रहन्छ, स्वअनुशासन कायम हुन्छ त्यतिबेला मानवअधिकार सुरक्षित हुन्छ । त्यो समय भनेकै समाजबाद हो ।’ उनले भने, ‘नेपाल सरकार त्यसतर्फ अग्रसर छ ।’
उनले विश्वमा शक्तिशालीले गर्ने सबै खाले अपराध क्ष्यम्य भएको बताउँदै सानालाई ऐन र ठूलालाई चयन हुदासम्म मानवअधिकार सुरक्षित हुन नसक्ने बताएका छन । साम्यवादमा मात्र मानवअधिकारको उलंघन नहुने र पूर्ण संरक्षण समेत हुन नसक्ने उनले दावी गरेका छन ।
सरकारलाई जनताप्रति जिम्मेवार, मितव्ययी र जिम्मेवार बनाउन आवश्यक रहेको बताउँदै ‘दाग लाग्ने काम कसैले गर्न नहुने’ बताए । कम्युनिष्ट सरकार सत्य र न्यायको जगमा सञ्चालन हुनुपर्नेमा उनले जोड दिए । मानवअधिकार घोषणापत्रलाई व्यवहारमा लागु गर्न सबै निकाय जिम्मेवार भएर भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले मानवका अहरणीय र नैसर्गिक अधिकारहरु नेपालको संविधानमा मौलिक हकका रुपमा सुनिश्चित भएको बताए । उनले यी अधिकारलाई ऐन कानुन मार्फत कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । नेपाल सरकार मानवअधिकारप्रति संवेदनशिल र प्रगतिशिल रहेको बताए । गौतमले मानवअधिकार संरक्षणमा सिन्धुलीको प्रहरी र प्रशासन संवेदनशिल रहेको बताए ।
कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी चक्र बहादुर सिंहले मानवअधिकारको अवस्थाका बारेमा इन्सेकले अनुगमन गरिरहेको बताउँदै इन्सेकको प्रतिवेदनले प्रहरीलाई मार्गदर्शन गरिहेको बताए । उनले यो वर्ष पनि मानवअधिकार उलंघनका घटना धेरै नै भएको बताउँदै यसलाई न्युन गर्न सबैको सहयोग आवश्यक रहेको बताए ।
सञ्जालका संयोजक द्वारिका काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य गंगा कार्की, अन्तरपार्टी महिला सञ्जालका पार्वती थापा लगाएतले मन्तव्य व्यक्त गरेका थिए भने सिन्धुली कलाघरका महिला कलाकारले लैंगिक हिंसा विरुद्ध लोपोन्मुख खैजडी भजन प्रस्तुत गरेका थिए । कार्यक्रममा ओरेक नेपालका जिल्ला संयोजक सपना थापाले स्वागत गरेकी थिईन ।
वक्तृत्वकलामा तिमल्सिना प्रथम
जिल्ला स्तरीय मानव अधिकार सन्जाल सिन्धुलीको आयोजना र ओरेक नेपालको साझेदारीमा भएको मावि स्तरको वक्तृत्वकलामा जनज्योति मावि फोस्रेटारका गगन तिमल्सिना प्रथम भएका छन ।
मानवअधिकार संरक्षणमा विद्यार्थीको भूमिका विषयक उक्त प्रतियोगितामा सिद्धस्थली अङ्ग्रेजी आबासिय मावी माडीबजारकी प्रमिला पौडेल द्वितिय, कमला मावी ढुंग्रेवासका भास्कर बस्नेत तृतिय भएका थिए । त्यसैगरी मावि पानीट्याङ्कीकी टंककुमारी खड्काले सान्त्वना स्थान प्राप्त गरेकी छिन ।

त्यस्तै प्रतियोगिताका मुल्यांकनकर्तालाई प्रशंसापत्र सहित कार्यक्रममा सम्मान गरिएको थियो । प्रतियोगिताको मुल्यांकनकर्ताको भुमिकामा साहित्यकार शारदा प्रसाद पहाडी, उपप्राध्यापक नानीबाबु घिमिरे र मानवअधिकारकर्मी अधिवक्ता सुशीला थिङ रहेका थिए ।






















