सिन्धुली । नेपाल सरकारको प्रत्यक्ष लगानीमा पाँच वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण सुरु गरिएको नमुना शहर निर्माणको काम उपयुक्त बजेट नहुदा अगाडि बढ्न सकेको छैन । सरकारले १० नमुना शहर बनाउने गरि २०७० सालमा घोषणा गरेको खुर्कोटलाई करिव ५÷६ अर्ब बजेट लाग्ने अनुमान गरेको भए पनि उपयुक्त बजेट छुट्याउन सकेको छैन ।
करिव ५० हजारदेखि एकलाख जनसंख्या बस्न मिल्ने गरि सडक, खानेपानी, विद्युत, खेल मैदान, फोहोर व्यवस्थापन लगायतका पूर्वाधारहरु निर्माण गर्नुपर्ने भए पनि ती कामहरु हुन सकेका छैनन । शहर घोषणा भएको २ वर्षसम्म कार्यालय स्थापना गर्न लागेको नयाँ शहर आयोजनाले आसपासका क्षेत्रमा चार स्थानमा २१ किलोमिटर सडक ट्रयाक खोल्ने र ३ किलोमिटर सडक पिच गर्ने काम गरेको छ । अन्य पूर्वाधार निर्माणको काम हुन सकेको छैन ।
नमुना शहर निर्माणका लागि अनुमान गरिएको रकम अनुसार बजेट नहुदा काम अगाडि बढाउन नसकिएको नयाँ शहर आयोजना कार्यालय खुर्कोटका प्रमुख समुन सालिकेले बताए । उनका अनुसार कार्यालयमा वर्षमा १२ देखि १४ करोड मात्र बजेट आउने गरेको छ । जुन बजेट अत्यधिक न्युन हो ।
पाँच वर्षमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखेको भए पनि स्थापनाको २ वर्ष कार्यालय स्थापनामा खर्च भयो । बाँकी ३ वर्षमा ६ किलोमिटर ट्रयाक खोल्ने मात्र काम भएको आयोजना प्रमुख समुन सालिकेले बताए । सरकारले खुर्कोटलाई नयाँ सहरका रुपमा विकास गर्न कार्यालय स्थापना गरेर अगाडी बढाएको थियो । कार्यालय स्थापना भए पनि उचित बजेट नहुदा अन्य कामले तिव्रता पाउन सकेको छैन ।
यस अवधिमा नयाँ शहर आयोजनाले खुर्कोटको ६ सय ७८ रोपनी जमिनको लगत संकलन गरि बस्ती विकास गर्ने गरी काम अगाडी बढाएको भए पनि त्यो जमिन अपुग छ । उक्त जमिनलाई ४२ ब्लक बनाएर त्यसलाई व्यवस्थापन गर्ने काम अगाडी बढाउने काम भई रहेको कार्यालयले जनाएको छ ।
बजेट अनुसारको काम आफुहरुले गर्ने भएकाले राज्यकै कारण तोकिएको समयमा काम हुने अवस्था छैन । कम्तिमा ५ वर्षमा काम सक्ने लक्ष्य राखेपछि त्यही अनुसारको बजेट सरकारले नपठाएका ले समस्या भएको सालिकेले बताए ।
‘पाँच बर्षमा पहिलो फेजका केही कामहरु भएका छन, अब दोस्रो फेजका कामहरु अगाडी बढाउदै छौँ’, सालिकेले भने । नेपाल सरकारले राखेको लक्ष्य अनुसार अहिलेको ६ सय ७८ रोपनी जमिनमा ५० हजार देखि एक लाख जनसंख्या बस्न नसक्ने भएकाले त्यस आसपासका जमिनलाई पनि व्यवस्थित गर्नु पर्नेमा आफुहरु लागी परेको उनले बताए । ‘त्यसै अनुरुप कार्यालयले अन्य देखिने खालको कुनै काम हुन सकेको छैन, नेपाल सरकारले तोकेको अवधी मा निर्माण सम्पन्न हुने सम्भावना कम छ’, शालिकेले भने ।
व्यवस्थित नयाँ शहर भनेपछि त्यसमा सडक, खानेपानी, विद्युत, खेल मैदान, फोहोर व्यवस्थापन लगायतका पूर्वाधारहरु निर्माण गर्नुपर्ने हुन्छ,त्यसको लागी विकल्प र स्थानहरुको खोजि भई रहेको उनले बताए । वन्न लागेको नमुना शहरको मापदण्डमा कम्तिमा पनि ५ प्रतिशत सार्वजनिक जग्गा राख्नु पर्ने हुन्छ खुर्कोटमा त्यस्तो जग्गाको समेत अभाव छ ।




















