सिन्धुली/जिल्लाका जेष्ठ नागरिकहरुले जेष्ठ नागरिकलाई सामान्य सम्मान र सुविधा समेत दिन नसकेको आरोप लगाएका छन । कमलामाई नगरपालिका सिन्धुलीले मंगलबार आयोजना गरेको जेष्ठ नागरिक सम्बन्धि सरोकारवाला संगको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनीहरुले यस्तो बताएका हुन ।
कार्यक्रममा बोल्दै जेष्ठ नागरिक शेषराज दाहालले राज्यले यातायात, स्वास्थ्य लगाएतका क्षेत्रमा दिन सक्ने सुविधा समेत नदिएको बताए । उनले सिन्धुलीमा सञ्चालन भएका यातायातका साधनहरुले जेष्ठ नागरिकहरुलाई आरक्षित सिट र राज्यले व्यवस्था गरेको ५० प्रतिशत भाडा सहुलियत नदिएको आरोप लगाए । यस्तै उनले निशुल्क स्वास्थ्य विमाको व्यवस्था गर्न समेत माग गरे । कार्यक्रमका बोल्दै उनले जेष्ठ नागरिकहरुलाई सरकारी कार्यालयमा सेवा लिन जाँदा समेत लाईनमा बस्नुपर्ने अवस्था रहेको भन्दै जेष्ठ नागरिकको सम्मानमा सरकारी निकायले ध्यान नदिएको आरोप लगाए ।
कार्यक्रममा बोल्दै जेष्ठ नागरिक रामजी प्रसाद सुवेदीले जेष्ठ नागरिकलाई सम्मान, सहुलियत र भ्रमण चाहिएको बताए । यस्तै अर्का जेष्ठ नागरिक कुल प्रसाद बरालले पेन्सन खाईरहेका जेष्ठ नागरिकलाई राज्यले भत्ताको सुविधाबाट बञ्चित गरेर अपमान गरेको बताए । उनले, ‘पेन्सन श्रमको मुल्य हो, राज्यले सम्मान स्वरुप दिएको भत्ता किन नपाउने ?’ प्रश्न गरे ।
यस्तै अर्का जेष्ठ नागरिक फाल्गुनी शर्माले नगरपालिका स्तरमा दिवा सेवा केन्द्र र वडा वडामा जेष्ठ नागरिक सेवा सदनको निर्माण गरि जेष्ठ नागरिकलाई आफ्ना अनुभव साटासाट गर्ने, बस्ने, खेल्ने रमाउने ठाउँको व्यवस्था गर्न नगरपालिकालाई आग्रह गरे । यस्ते मनोहर खतिवडाले जेष्ठ नागरिक र नाती पुस्ताबीच दुरी धेरै बढेको भन्दै उनीहरुबीच अन्तक्र्रिया र अनुभव साटासाट गर्न वातावरण मिलाउन स्थानीय सरकारलाई आग्रह गरेका छन ।
कार्यक्रममा नगरपालिकाका अधिकृत सागर कुमार ढकालले जेष्ठ नागरिकको अवस्था, कमलामाई नगरपालिकाले जेष्ठ नागरिकका हितमा गरेका काम, जेष्ठ नागरिकसँग सम्बन्धित रहेर बनेका कानुनी व्यवस्थाका विषयमा सहजीकरण गरेका थिए । कार्यक्रममा कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीले जेष्ठ नागरिकलाई समेत मध्येनजर गरि स्थानीय संरचनाहरु निर्माण गरिने बताए ।





















