रमा कार्की
सिन्धुली । लटरम्मै फलेका टमाटर, सेतै फुलेका काउली लाईनले रोपेका आलुका विरुवा, टलक्क टल्किने बन्दा अनि त्यसैको आसपासमा प्याज, लसुन र धनियाँ । कमलामाई नगरपालिका वडा नं. ८ का चित्रनारायण श्रेष्ठको बारीमा यतिबेला देख्न सकिन्छ । उनले यसरी तरकारी खेति गरेको धेरै भयो । उनको पुख्र्यौली पेशा पनि कृषि नै हो तर पछिल्लो समय यसलाई थप व्यवसायीक बनाए । धान मकैभन्दा राम्रो आम्दानी दिने भएपछि उनले तरकारी खेतिलाई व्यवसायीकीकरण गरे । यहि तरकारीबाट उनले एक वर्षमा दुई लाखको हाराहारीमा आम्दानी गर्छन ।
यतिले उनलाई चित्त बुझेन । २०७२÷०७३ मा उनले राष्ट्रिय वाणिज्य बैकबाट १० लाख ऋण लिएर बाख्रा फर्म दर्ता गरेर वाख्रापालन गरे । बाख्राबाट उनको आम्दानी बार्षिक चारदेखि पाँचलाख रुपैंया हुन थालेको छ ।
उनको परिवारले २०३३ सालदेखि सोहि स्थानमा निरन्तर रुपमा मौसम अनुसारको खेति र गाईवस्तु पादै आएका थिए तर उनले यसलाई अर्गानिक र व्यवसायीक खेतिका रुपमा विस्तार गरे । उनी भन्छन, ‘एक डेढ विगाहामा मौसम अनुसारका तरकारी उत्पादन गर्न गाह्रो छैन’ तर उनलाई बाटो र बजार नजिकै नहुदा भने अलिक समस्या छ । उनले उत्पादित तरकारी भिमान बजार, कर्करे, माईस्थानका बजार तथा होटलमा बोकेर लानुपर्छ विक्रीका लागि । स्थानीय साना बजार तथा होटलहरुमा पु¥याएर तरकारी बेच्ने उनी आफ्नो व्यवसायबाट खुशी छन ।
उनले सन्चालन गर्दै आएको बाख्रा फर्ममा ६० देखि ७० वटा खसी नियमित हुन्छन । एउटा खसी मासुको लागि योग्य हुन ३ वर्ष समय पाल्नु पर्ने उनको भनाई छ । उनले पालेका खसीबाख्रालाई अन्न खुवाउँदैनन घाँस मात्र खुवाउँछन जसले गर्दा बोसोको मात्र एकदमै कम हुन्छ । त्यस्तो मासु मानव स्वास्थ्यको लागि एमदमै हितकर हुने उनी बताउँछन् । खसी लिन मान्छेहरु घरैमा आउने भएकाले उनलाई यसको बजारमा भने चिन्ता छैन ।
श्रेष्ठले खेति तथा बाख्रापालन बाहेक सामाजिक तथा राजनीतिक क्षेत्रमा पनि उनको उत्तिकै लगाव र चासो दिन्छन र त्यस्ता काममा समय दिन्छन । उनी हाल कमलाजी जन्मस्थान सामूदायिक वन उपभोक्ता समितिको अध्यक्ष, कमला निम्न माध्यामिक विद्यालय तिनतलेको अध्यक्ष छन । यसअघि उद्योग वाणिज्य संघ सिन्धुलीको सदस्य समेत थिए उनी ।
विहान दिउँसो अरु काममा व्यस्त हुँदा खेतबारीको काम गर्न भ्याएनन् भने उनी राती पनि तरकारी बारीमा व्यस्त हुन्छन । आफुले गर्नु पर्ने काम सकेर मात्र सुत्ने उनको बानी छ । उनलाई परिवारका सदस्यहरुको भरपुर सहयोग छ । उच्च शिक्षा पढ्दै गरेका छोराछोरीले पनि विदाको समयमा उनलाई खेती तथा खसीबाख्राको हेरचाह गर्न सघाउँछन । उनी भन्छन्, ‘श्रमको सम्मान तथा कामप्रतिको लगाव छोराछोरीले बुझेका, सिकेका छन ।’
श्रेष्ठले कृषि विकास कार्यालय मार्फत ५० प्रतिशत अनुदानमा खेत जोत्ने ट्याक्टर र राष्ट्रपति चुरे संरक्षरण कार्यक्रमबाट तरकारी खेतिको लागि टनेल पाएका छन । यस बाहेक उनले कुनै पनि निकायको सहयोग लिएका छैनन । ‘कृषिको काम दुःखको काम भएकाले स्थानीय सरकारले किसानलाई प्रोत्साहन दिने कार्यक्रम ल्याउनुपर्ने सुझाव दिन्छन ।
यस्तै उनले स्थानीय निकायले हरेक वडाहरुमा कृषि प्राविधिकको व्यवस्था गरेमा खेतबारीमा आएका समस्या समाधान गर्न सहज हुने बताए । श्रेष्ठको तरकारी खेति तथा बाख्रा फर्म हेर्न सदरमुकामदेखि छिमेकी जिल्लाहरुबाट समेत किसानहरु आउने गरेको उनले बताए । भन्छन, यसले मलाई यो पेशामा उत्साह जागेको छ ।
श्रेष्ठले आफु मात्र हैन गाउँका अरु युवाहरुलाई कृषि पेशा गर्न सुझाव दिन्छन् तर उनको त्यो अभियान भने सफल भएको छैन । नेपालमा बढ्दै गएको बेरोजगारी, बैदेशिक रोजगारीमा युवाहरुको बढ्दो आर्कषण, श्रम गर्नेहरुप्रति हेर्ने दृष्टिकोण आदि कारणहरुले आउने पुस्ताले कृषिमा ध्यान दिन नदिएको उनको ठम्याई छ ।





















