सिन्धुली । सिन्धुली अपांग महिला संघ सिन्धुलीले कमलामाई नगरपालिका भित्रका अपांगता भएका व्यक्तिहरुका लागि सहायक सामग्री वितरण गरेको छ । शुक्रबार सिन्धुलीमाढीमा अपांगता भएका व्यक्तिहरुका लागि सहायक सामग्री वितरण गरिएको हो ।कमलामाई नगरपालिका सिन्धुलीको आर्थिक सहयोगमा औपचारिक कार्यक्रमका बीच सहायक सामग्री वितरण गरिएको हो ।
समुदायमा आधारित पुनस्र्थापना कार्यक्रम (सिविआर) अन्तर्गत उक्त सामग्री वितरण गरिएको संघका अध्यक्ष दिलकुमारी देवकोटा (दिपा)ले बताईन ।
उनका अनुसार कमलामाई नगरपालिका भित्रका अपांगता भएका व्यक्तिहरुलाई ह्वील चियर १६ वटा, बैशाखी १५ वटा, कम्बोड चियर १६ वटा, लौरो १० वटा, सेतो छडी ५ वटा र वाकर २ वटा वितरण गरिएको छ । कमलामाई नगरपालिकाले सहयोग सामग्री वितरण गर्न ५ लाख बजेट सहयोग गरेको थियो ।
कमलामाई नगरपालिकाका उपमेयर मञ्जु देवकोटाले अपांगता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण गरेकी छिन । सहायक सामग्री वितरण गर्दै उपमेयर देवकोटाले अपांगता भएका व्यक्तिहरुको पहिलो आवश्यकता नै सहायक सामग्री भएकाले नगरपालिकाले लगानी गरेको बताईन । सहायक सामग्री अपुग भएमा नगरपालिकाले थप सहयोग गर्न तयार रहेको समेत उनले बताएकी छिन ।
उनले नगरपालिकाले अपांगता भएका व्यक्तिको तथ्यांकलाई एकीन गर्न समेत नसकेको बताउँदै तथ्यांक व्यवस्थापनमा सहयोग गर्न सबैलाई आग्रह समेत गरेकी छिन ।
अपांग मैत्री संरचना व्यवस्थापन अहिले तत्कालको आवश्यकता रहेको बताउँदै उनले अपांग मैत्री संरचना बनाउन राज्यका सबै निकायले ध्यान दिनुपर्नेमा जोड दिईन ।






















