सिन्धुली । नेकपा एमाले सिन्धुली पालिका कमिटीहरुको अधिवेशनमा जुटेको छ । पालिका स्तरीय बैठकहरु सम्पन्न गरि प्रतिनिधिहरु छनौटका साथै अधिवेशनहरु सुरु गर्न लागेको नेकपा एमाले सिन्धुलीले जनाएको छ ।
नेकपा एमालेको आठौ जिल्ला अधिवेशन चैत २८, २९ र ३० गते सिन्धुलीमाढीमा सम्पन्न भएसँगै पार्टीले पार्टीका सांगठनिक काममा तिव्रता दिएको छ । सोहि अनुरुप पालिका अधिवेशन सम्पन्न गर्न लागिएको नेकपा एमाले सिन्धुलीले जनाएको छ ।
सोमबार विहान सिन्धुलीमाढीमा पत्रकार सम्मेलन गर्दै एमाले जिल्ला सिन्धुलीले सोमबारबाटै अधिवेशनहरु सुरु भएको जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमाले सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले सबै पालिकामा अधिवेशनको तयारी तिव्र रुपमा भएको बताए । आगामी तीन वर्षका लागि पालिका अधिवेशनले पार्टी सञ्चालनका लागि आन्तरिक नीति निर्माण गर्ने, कार्ययोजना बनाउने र संगठनलाई मजबुद बनाउन सहयोग पुग्ने श्रेष्ठले विश्वास गरेका छन ।
श्रेष्ठले मरिण गाउँपालिकामा सोमबार अधिवेशन हुने, ८ र ९ गते गोलञ्जोर गाउँपालिका, ११ र १२ गते तीनपाटन गाउँपालिका, जेठ ११ गते हरिहरपुरगढी गाउँपालिका, जेठ १२ गते सुनकोशी गाउँपालिका, जेठ १३ गते फिक्कल गाउँपालिका, जेठ १४ र १५ गते दुधौली नगरपालिका, जेठ १५ र १६ गते कमलामाई नगरपालिका र जेठ १९ गते घ्याङलेख गाउँपालिकामा अधिवेशन हुने पत्रकार सम्मेलनमा जानकारी दिएका छन ।
कमलामाई नगरपालिकामा २६० जना, गोलञ्जोर गाउँपालिकामा २०२ जना, दुधौली नगरपालिकामा २७० जना, हरिहरपुरगढी गाउँपालिकामा १५३ जना, मरिण गाउँपालिकामा १५८, घ्याङलेख गाउँपालिकामा २५० जना, फिक्कल गाउँपालिकामा १६५ जना, सुनकोशी गाउँपालिकामा १५६ र तीनपाटन गाउँपालिकामा २७१ जना प्रतिनिधिले अधिवेशनमा सहभागिता जनाउने नेकपा एमालेले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने गर्ने छ ।
यो सँगै एमालेले सदस्यता नविकरण, नयाँ सदस्यताका लागि अभियान समेत वडा स्तरसम्म निरन्तर चलाएको छ ।





















