
कमलामाई नगरपालिका सिन्धुलीको सहयोगमा अपांगता भएका बालबालिका, महिलाहरुलाई तीजको दर खुवाईएको र शुभकामना आदानप्रदान गर्ने कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
अपांग महिला संघका अध्यक्ष दिपा देवकोटाको अध्यक्षता एवम जिल्ला समन्वय समिति सिन्धुलीका उपप्रमुख शान्ता कार्कीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै कार्कीले चाडवाडलाई संस्कृति र संस्कारका रुपमा मनाउनुपर्ने बताईन । उनले पर्वलाई क्षमता अनुसार मनाउन समेत सबैलाई आग्रह गरिन ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले महिलाहरुले तीज मान्दा विरोधका स्वरहरु आएको बताउँदै तीजलाई सभ्य तरिकाले मनाउन अनुरोध गरिन । तीजलाई संस्कृतिका रुपमा रमाईलो गरेर सामुहिक रुपमा मनाउन बाधा हाल्न नहुने नेपालले बताएकी छिन ।
न्युनतम पारिश्रमिक निर्धारण समितिका पूर्व सदस्य बिमला पाण्डेले तीज पर्वलाई संस्कृतिसँगै अधिकारको पर्वको रुपमा मनाउन आग्रह गरिन । पाण्डेले अपांगता भएका व्यक्तिहरुको पहुँचमा पुग्ने गरि चाडबाड मनाउन समेत उनले आग्रह गरेकी छिन ।
कार्यक्रममा कमलामाई नगरपालिकाका सामाजिक शाखा प्रमुख सत्यदेवी अधिकारीले सामुहिक रुपमा चाडवाड मनाउन र सामाजिक सम्बन्ध बलियो बनाउन आग्रह समेत गरिन । कार्यक्रममा संघका कोषाध्यक्ष वविता थापाले स्वागत गरेकी थिईन भने कार्यक्रमको सहजीकरण किरण श्रेष्ठले गरेका थिए ।
कार्यक्रममा वहिरा, बैद्धिक अपांगता भएका, शारीरिक अपांगता भएका महिला, शिक्षक तथा अविभावकको सहभागिता रहेको थियो । उनीहरुले तीजका गीतमा नाचगान समेत गरेका थिए ।
कार्यक्रममा जनज्योति मावि फोस्रेटारमा अध्ययनरत बौद्धिक अपांगता भएका छात्राहरु, शिक्षकहरु, नवज्योति बहिरा स्कुल जसेदमारका बहिरा तथा सुस्त श्रवण बालबालिकाहरु साथै शिक्षक र अविभावकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।





















