सिन्धुली । मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेको मुलुकी अपराध (संहिता) ऐन २०७४ ले रजस्वला वा सुत्केरी भएकी महिलालाई छाउगोठमा राख्न नहुने भनेको छ । यो संहिताले छाउगोठमा राख्नेलाई मात्र हैन रजस्वला हुँदा छुवाछुत गर्नेलाई पनि फौजदारी अपराध मान्दै सजायको व्यवस्था गरेको छ ।
महिनावारीका बेला हुने छुवाछुतलाई अपमानजनक वा अमानवीय व्यवहार भनि परिभाषित गरेको यो संहिताको दफा १६८ को उपदफा ३ मा ‘महिलाको रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्नु वा त्यस्तै अन्य कुनै किसिमका भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्नु गराउनु हुँदैन’ भनि उल्लेख गरिएको छ । सोहि दफाको उपदफा ४ र ५ ले यस्तो कार्य गर्नेलाई सजायको व्यवस्था समेत गरेको छ ।
अब रजस्वला (महिनावारी) भएकी महिलालाई छाउगोठमा राख्ने र छुवाछुत गर्नेलाई ३ महिना कैद र तीन हजारसम्म जरिवाना हुनेछ । सजाय र जरिवाना दुवै पनि हुनसक्ने छ ।
उपदफा ५ अनुसार, महिनावारी भएकी वा सुत्केरी महिलालाई छाउ गोठमा पठाउने, छुवाछुत गर्ने र गराउने व्यक्ति राष्ट्रसेवक रहेछ भने थप तीन महिना कैद हुने समेत व्यवस्था गरेको छ ।




















