सिन्धुली । जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले गोलञ्जोर गाउँपालिका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार) लाई स्पष्टिकरण सोधेको छ । सार्वजनिक पदमा बसी सामाजिक सञ्जालमा राजनीतिक दलका उमेदवारको प्रचार प्रसार गरि निर्वाचन आचारसंहिता उलंघन गरेको भन्दै कार्यालयले स्पष्टीकरण सोधेको हो ।
कार्यालयले प्रेस विज्ञप्ती जारी गरि उनलाई लिखित स्पष्टिकरण दिन पत्र लेखिएको जनाएको छ । विज्ञप्तीमा निर्वाचन आचारसंहिता २०७९ को दफा ५ को क विपरित सामाजिक सञ्जाल मार्फत राजनीतिक दल तथा उमेदवारको प्रचार प्रसार गरि आचारसंहिता उलंघन गरिएको उल्लेख गरिएको छ ।
जिल्ला निर्वाचन अधिकारी पुष्पा कुमारी झाले जारी गरेको विज्ञप्तीमा न्यौपानेलाई मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा बुधबार बसेको जिल्ला आचारसंहिता अनुगमन समितिको बैठकको निर्णय बमोजिम स्पष्टीकरण सोधिएको उल्लेख गरेकी छिन ।
उनलाई काटिएको पत्रमा ‘निर्वाचन आचारसंहिता २०७९ को दफा ४६ र निर्वाचन ऐन २०७३ को दफा २३ बमोजिम कारवाहि किन नगर्ने हो ? जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समिति समक्ष स्वयम् उपस्थित भई लिखित स्पष्टिकरण पेश गर्न’ भनिएको छ ।





















