सिन्धुली । एसईईमा कम नम्बर दिएको भन्दै यहाँका एक विद्यालयका विद्यार्थी प्रधानाध्यापक र अंग्रेजी शिक्षकलाई कुटपिट गरेका छन । आइतबार सुनकोसी गाउँपालिका–७ मझुवामा रहेको गणेश माविका विद्यार्थीहरुले एसईईमा कम नम्बर दिएको भन्दै प्रधानाध्यापक नेत्रबहादुर सुनुवार र अंग्रेजी शिक्षक चित्रबहादुर भण्डारीलाई कुटपिट गरेका हुन् ।
उक्त विद्यालयका एसईईका १ छात्रा र ५ छात्र गरि ६ जना विद्याथीहरुले कार्यालयमा आई प्रधानाध्यापक सुनुवारलाई मुखमा मुक्काले हिर्काएको र अर्का शिक्षक भण्डारीलाई लछारपछार गरेका शिक्षक झलक दाहालले बताए । जसको नेतृत्व अविभावक मंगले स्वाङवाले गरेका थिए ।
विद्यार्थीहरुको कुटपिटबाट प्रधानाध्यापक सुनुवारको मुखमा चोट लागेको छ । अर्का शिक्षक भण्डारीको जिउमा निलडाम छ । रिजल्टमा सी ग्रेड आएको र रोजेको विषय पढ्न नपाएको भन्दै कुटपिट गरेको शिक्षक दाहालले बताए ।
घाइते दुवैजनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको छ । उनीहरुको अवस्था सामान्य रहेको बताईएको छ । विद्यार्थीहरुले शिक्षकलाई कुटपिट गरेपछि विद्यालयका शिक्षक कर्मचारीहरुको बैठकले सुरक्षाको माग गर्दै अनिश्चितकालीन विद्यालय बन्द गरेका छन् ।

शिक्षकहरु कुटिएपछि घटनाको सामाजिक सञ्जाल तथा शिक्षकका संघसंगठनहरुले विरोध जनाएका छन । घटना निन्दनीय भएको र दोषीलाई कारवाहि गरिनुपर्ने भन्दै जिल्लाका शिक्षकहरुले विरोध जनाएका छन ।
प्रधानध्यापक सुनुवार नेपाल शिक्षक महासंघ सिन्धुलीका सहसचिव तथा नेपाल राष्ट्रिय शिक्षक संगठन सिन्धुलीका आजिवन सदस्य हुन भने भण्डारी नेपाल राष्ट्रिय शिक्षक संगठन, सिन्धुलीका सदस्य तथा शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सदस्य हुन ।





















