सिन्धुली । जिल्लामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला हेटौंडामा गरिएको परिक्षणमा एक व्यक्तिको रिपोर्ट पोजेटिभ आएको हो ।
विहिबार ६५ जनाको स्वाब संकलन गरी पठाएकोमा एक जनाको रिपोर्ट भने पोजिटिभ आएको स्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।
संक्रमित व्यक्ति कमलामाइ – ८ का ३३ वर्षका पुरुष भएको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहले बताए । उनी साउदीबाट आएका व्यक्ति हुन । चारदिन अघि नेपाल आएका उनी कमलामाइ–६ को क्वारेन्टाइनमा बसेका थिए ।
यो सँगै सिन्धुली जिल्ला ठेगाना भएका १८ जनामा कोरोना पोजिटिभ देखिएको छ । तर जिल्लाबाट परिक्षणका लागि पठाईएका स्वावको परिक्षणमा भने ९ जनाको मात्र रिपोर्ट पोजेटिभ आएको हो ।
संक्रमित मध्ये सिन्धुली अस्पतालको आईसोलेसनमा उपचार गराएका ७ जना उपचार पछि सञ्चो भएर घर फर्किसकेका छन ।
अस्पतालको आइसोलेसनमा दुधौली ८ का एक युवा उपचाररत छन भने शुक्रबार संक्रमण पुष्टि भएका युवालाई पनि आइसोलेसनमा ल्याई उपचार थालिएको सिन्धुली अस्पतालका कोभिड १९ फोकल पर्सन डा. प्रसन्नजंग राजभण्डारीले बताए । उनका अनुसार संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।





















