
अध्यक्ष
महिला उद्यमी महासंघ सिन्धुली
महोत्तरीको रामनगरमा बुवा सूर्य बहादुर श्रेष्ठ र चम्पादेवीका तेस्रो सन्तानका रुपमा जन्मेकी निरु श्रेष्ठ (४८) सिन्धुलीको कमलामाई नगरपालिका ४ ढुंग्रेवासकी स्थायी बासिन्दा हुन । करिब १५ वर्षदेखि सिन्धुलीमा व्यवसाय क्षेत्रमा क्रियाशिल महिला हुन । पछिल्लो समय सफल व्यवसायीका रुपमा आफुलाई अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन सफल श्रेष्ठले हिंसाको विकल्पमा महिलाहरुले आफुलाई आर्थिक रुपमा बलियो बनाउनुपर्छ भन्ने मान्यता राख्छिन । उनले श्रीमानको शारीरिक तथा मानसिक हिंसालाई सहन नसकेपछि प्रतिवाद गरि ४ छोराछोरीको जिम्मेवारी सहित घरबाट निस्की व्यवसाय गर्न थालिन । अध्ययनका हिसाबले एसएलसी भन्दामाथि पुग्न परिवार नै बाधक बनेको उनको लागि परिवारकै कारण लगाएको लुगासँग मात्रै घर बाहिरिनुको विकल्प रहेन र हिम्मत पनि गरिन । श्रीमानले गालीगलौज गरेको र कुटपिट गरेको देख्दा ‘हिंसा सहेर बाँच्नुभन्दा आत्महत्या गर्नु वेश’ भनेर अर्ति दिनेहरुलाई उनले चुनौती दिइन । जसका कारण उनी सफल आमाका साथै सफल व्यवसायीका रुपमा अन्तराष्ट्रिय स्तरमा समेत सम्मानित हुन पुगेकी छिन । राजनीतिक हिसाबले मजदुरका संगठन ट्रेड युनियन महासंघ (जिफन्ट) को नेतृत्व सम्हालेकी श्रेष्ठले २०७५ बैशाख १२ गतेदेखि जिल्लामा महिला उद्यमी महासंघको नेतृत्व सम्हालेर महिला व्यवसायका हितमा आफुलाई थप समर्पित गर्दैछिन । प्रस्तुत छ समाजसेवा, राजनीति र व्यवसायले नै महिलालाई सक्षम र बलियो बनाउने निष्कर्ष भएकी श्रेष्ठसँग सम्पादक बिमला पाण्डेले गरेको कुराकानी ।
तपाईंको पारिवारिक तथा सामाजिक पृष्ठभूमी भनिदिनुस न ?
म महोत्तरीको रामनगरमा बुवा सूर्य बहादुर श्रेष्ठ र चम्पादेवी श्रेष्ठको कोखबाट जन्में । १४ वर्षको उमेरमा कक्षा ८ मा पढ्दै गर्दा सिन्धुलीको कनपा ४ ढुंग्रेवासका बासुदेव श्रेष्ठसँग विवाह भयो । विवाह भएदेखि नै मैले हिंसा सहनुप¥यो । २१ वर्ष पुग्दा मैले ४ सन्तानलाई जन्म दिइसकेकी थिएँ । श्रीमान सधै रक्सि खाने र आएर कुट्थे । बालबच्चालाई खर्च जुटाउन मैले २०४८ सालदेखि २०५२ सालसम्म स्थानीय बोर्डिङ विद्याश्रममा पढाएँ । आफुलाई पढ्न र नानीहरुलाई खर्च जुटाउन मैले निकै मेहनत गर्नुप¥यो । परिवारकै कारणले आईए पढ्दा पढ्दै छोडें । २०५० सालमा घर छोडें । ३ छोराछोरी र कान्छो छोरो गर्भमा लिएर निस्के पनि श्रीमान उनी भएकै ठाउँमा आए । ६ महिनापछि फेरी घर फर्कें तर पछि पनि उहि व्यवहार भई नै रह्यो । त्यसपछि २०५२ देखि २०५४ सालसम्म टेलरमा काम गरें । यसले मलाई केहि आर्थिक रुपमा सहयोग ग¥यो । काम नगरे खान नपाईने, काम गर्न जाँदा अरु सँगै लागेको आरोप लाग्ने । जसका कारण कति कुटाई खाँए त्यसको कुनै हिसाबै छैन । २०५५ सालदेखि सामुदायिक वन उपभोक्ता महासंघमा प्रवेश गरें । जसले मलाई नेतृत्वमा जान हौसला प्रदान ग¥यो । २०५६ सालमा महासंघको कोषाध्यक्ष भएँ । २०५८ मा महासंघको सचिव भएँ तर यसले जीविका धानिदैनथ्यो जसका कारण प्रगतिशिल सहकारीका काम गरें । यतिबेलासम्म पारिवारीक समस्या झनै जटिल भएको थियो । २०६० सालमा आएपछि म श्रीमानसँग बस्नै नसक्ने अवस्था आयो र घरबाहिर कोठा लिएर छोराछोरीसँगै बस्न थालें । घरबाट निस्कदा शरिरको लुगा बाहेक केहि थिएन मसँग । त्यसपछि बल्ल व्यवसाय सुरु गरें ।
पारिवार र व्यवसायलाई कसरी व्यवस्थापन गर्नुभयो ?
जागिर, व्यवसाय पेट पाल्नका लागि बाध्यता थियो । बच्चा मसँग जोडिएको कर्तव्य । भित्ताले अन्न उब्जाउदैनथ्यो, कोठाले दिदैनथ्यो । घरबाट निस्केपछिको विकल्प नै मेरा लागि व्यवसाय भयो । जीवनमा मेरो श्रीमानले मलाई कहिल्ले पनि केहि दिएनन । उनलाई रक्सि खानै पुगेन । घरबाट निस्केपछि टुकिमारा बनाएर बेच्न थालें । त्यसपछि २०६० सालमै महिला विकास कार्यालयबाट चुलोको टेक्निसियन र टिओटी तालिम लिएपछि सुधारिएको चुलो बनाउन थालें ।
पारिवारीक सहयोग कत्तिको पाउनु भयो ?
जीवनमै परिवारबाट कहिले सहयोग र माया नपाएको मान्छे म । बरु बाहिरका साथिभाई, छिमेकी वा अरुकै सहयोग पाएँ । घर परिवारले त सम्झनै नसक्ने पीडा दियो । जे जति पीडा दिएपनि जीवनमा कुखुरा पाले, चुलो बनाएँ, टुकिमारा बनाएँ, मासु काटें तर गलत काम गरिन । आफ्नै परिश्रममा रमाएँ । जसका कारण छोराछोरीको माया पाएकी छु ।
तपाईले सञ्चालन गरेका व्यवसायहरु के हुन ?
मैले अहिले चुलोको व्यापार गरिरहेको छु । इनर्जियाको कार्यक्रममार्फत सिन्धुली, काभे्र र गुल्मीमा सुधारिएको चुलोको डिलरका रुपमा काम गरिरहेकी छु । सिन्धुलीका ९ वटै गाउँपालिकामा सुधारिएको चुलो विक्री हुन्छ । हालसम्म ४ करोडको चुलो विक्री गरिसकें । करिब साढे दशहजार चुलो मैले नै सप्लाई गरिसकेको छु । अवको लक्ष्य धनुषा महोत्तरी ओखलढुंगामा चुलो विक्री गर्नु हो । त्यहाँका महिला उद्यमीहरुसँग समन्वय गरि काम गर्ने लक्ष छ । यस्तै कनपा ४ मा रहेको १ विघा जमिनमा गाई फर्म, पोल्ट्री फर्म र माछा पोखरी पनि सञ्चालन गरेकी छु । यससँगै किराना पसल पनि छ । यसको जम्मा कारोवार हेर्ने हो भने वर्षमा सवा करोडमाथि हुन्छ र आम्दानीको हिसावले हेर्दा मासिक ४० हजार माथि नै हुन्छ । अव मेरो लक्ष्य भनेको छोराछोरी पढ्दाको ऋण तिर्नु हो । जग्गाजमिन पुख्र्यौली छ जोड्नुपर्ने छैन । छोराछोरीको पढाई सकियो । बाँकी उनीहरुले कमाएर गर्छन ।
पछिल्लो समय उत्कृष्ट महिला उद्यमीका रुपमा पुरस्कृत हुनुभयो ? कसरी सफल हुनुभयो ?
मैले लैंगिक तथा दिगो उर्जाका क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय सञ्जाल इनर्जियाले नेपालबाट मलाई सम्मान ग¥यो । इनर्जियाले ६ जिल्लामा आफ्नो कार्यक्रम लागु भएका ८ सय उद्यमीमा उत्कृष्ट मलाई छानेको थियो । वर्षमा १ डलर आम्दानी गर्नुपर्ने इनर्जियाको तार्गेटलाई ३ जना महिला उद्यमीले प्रतिस्पर्धा गर्दा मेरो व्यवसायीक योजना र आम्दानी राम्रो भएपछि मैले जितें र न्युयोर्कमा उत्कृष्ट महिला उद्यमी पुरस्कार प्राप्त गरें । इनर्जियाले मलाई नेपालमा पनि सम्मान गरेको थियो । दक्षिण यशिया र अफ्रिकी मुलुकका पाँच उत्कृष्ट उद्यमीका रुपमा सम्मानित हुन हुनु मेरो लागि गौरवको कुरा हो । अहिले त्यहि व्यवसायीक योजना अनुसार काभ्रे र गुल्मीमा आफ्नो व्यवसाय विस्तार गरेकी छु । यता व्यवसायका माध्यमबाट महिला शशक्तिकरणमा योगदान दिएको भन्दै नेपालमा पनि सम्मानित भएँ । अहिले आफुले गरेको मेहनतले आफैलाई खुशी बनाएको छ ।
महिला उद्यमीहरुलाई संगठित गर्दै हुनुहुन्छ किन ?
सफल उद्यमी महिलाहरु जिल्लामा छन । उनीहरुका विविध समस्या छन । उनीहरुलाई व्यवसायमा सहयोग गर्नु र समस्याको पहिचान गर्नु हाम्रो कर्तव्य पनि हो । यहि सोंचका साथ जिल्लाका विभिन्न व्यवसायमा संलग्न घरेलु तथा उद्योग वाणिज्य संघमा दर्ता भई काम गरिरहेका महिला उद्यमीलाई संगठित गर्नु आवश्यकता ठान्यौं र महिला उद्यमी महासंघको गठन गरिएको हो । यसमा दुध उत्पादन, स्टेशनरी, फर्निचर, पोल्ट्री, सिलाई कटाई, इलेक्ट्रिसियन लगाएतका व्यवसायहरुमा संलग्न महिलाहरुलाई समेटिएको छ । हामीले २०७५ बैशाख १२ गते महासंघ बनाएका हौं । जसको नेतृत्व मैले नै गरेकी छु ।
महिला उद्यमीका समस्या के देख्नु भएको छ ?
राज्यले व्यवसायीक महिलाका लागि कुनै खालको सहुलियत दिएको छैन । महिलाका समस्या सहुलियत ऋण नपाउनु, बजारीकरण, उचित सिप नहुनु, धितोका लागि अचल सम्पत्ति नहुनु लगाएतका छन । यसले महिला उद्यमीलाई प्रतिस्पर्धा गर्न समस्या छ । हामीले जिल्लाका यस्ता उद्यमीका समस्या समाधान गर्न पहल गर्ने, महिलालाई आर्थिक सामाजिक राजनीतिक रुपमा सशक्तिकरण गर्नु लक्ष्य हो । त्यस्तै सिपको कमी भएका महिलाहरुलाई सिपको व्यवस्था गर्नु, सिपको सदुपयोग गरि व्यवसाय गर्न अनुगमन र प्रोत्साहन गर्ने हाम्रो योजना छ । त्यस्तै ग्रामीण भेगसम्म महासंघको संयन्त्र निर्माण पनि गर्नेछौं ।
मजदुरको संगठन जिफन्टको पनि अध्यक्ष हुनुहुन्छ व्यवसाय, राजनीति समाजसेवा सँगै किन ?
महिलालाई बालबच्चा, व्यवसाय, राजनीति सहज विषय हैन । यी सबै विषय सँगै लान निकै गाह्रो कुरा हो । तर पैसा सबै थोक पनि होइन । समाजसेवा, राजनीति जस्ता विषयले सामाजिक प्रतिष्ठा स्थापित गर्छ । राजनीतिले नेतृत्व विकास गर्छ । इज्जत पैसाले मात्र दिदैन । समाजसेवाले पेट भरिदैन आवश्यकता परिपूर्ति हुदैन । त्यसका लागि पनि राजनीति समाजसेवा र व्यवसाय सँगै लानु परेको हो । मानिसलाई सामाजिकीकरण हुन जरुरी छ । म त मलामी कमाउनका लागि राजनीति र समाजसेवा गर्छु । आफ्ना दैनिक आवश्यकता पुरा गर्न व्यवसाय ।
महिलाले राजनीतिमा सफल हुन के गर्नुपर्छ ?
महिला भएकै कारण राजनीतिमा ठाउँ नपाउने अवस्था छ । स्वच्छ मनले काम गर्नेहरुका लागि राजनीतिमा ठाउँ छैन । महिलालाई प्रतिस्पर्धामा उछिन्न चरित्रमाथि औंला उठाइन्छ । महिलाका लागि चरित्रहत्या सबैभन्दा ठूलो सजाय हुन्छ । हाम्रो समाज महिलाका बारेमा अनुदार छ जसका कारण महिलाहरु बोल्न सक्दैनन र सफल हुन सक्दैनन । यी यस्ता अनावश्यक लाञ्छनालाई वेवास्ता गरेर आफ्नो काममा लागेमा मात्र महिला सफल हुने हो ।
अन्त्यमा हिंसा सहेर बस्ने महिलाका लागि के भन्नुहुन्छ ?
हिंसा सहेर बस्नु हुदैन । यो भन्दैमा महिलाले आफ्ना कर्तव्य र दायित्व विर्सनुपर्छ भन्ने होइन । प्रतिकार गर्नका लागि महिला आर्थिक, सामाजिक रुपमा दक्ष हुनुपर्छ र सिप, दक्षताको विकास गर्नुपर्छ । जब आर्थिक, सामाजिक र राजनीतिक रुपले आफु दक्ष भईन्छ अनि मात्र हिंसाको प्रतिकार गर्न सहज हुन्छ । जबसम्म अर्काको भरमा बाँच्नुपर्छ प्रतिकार गर्ने साहस आउँदैन । जीवनमा आउने अप्ठ्यारा बाधाहरु आफैले पन्छाउनुपर्छ ।





















