सिन्धुली । जिल्लामा कोरोना भाईरस विरुद्ध नागरिक समाज तथा पत्रकारलाई सचेतना गरिएको छ । कार्यक्रममा नागरिक समाज र सञ्चारजगतले स्वास्थ्य संस्था, सरकारी निकाय, स्थानीय तहहरु तथा नीजि क्षेत्रसँग साझेदारीमा कोरोना भाईरसका बारेमा सचेतना फैलाउने समेत भएका छन ।
युएएआईडि, एफएचआईको सहयोग तथा इन्सेकको आयोजनामा सिन्धुलीमाढीमा आयोजित पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत विकासका लागि नागरिक समाज तथा सञ्चार जगतबीच सहकार्य विषयक अन्तक्र्रिया कार्यक्रममा नागरिक समाज र पत्रकारले सचेतनाका कार्यक्रमलाई प्राथमिकता दिने बताएका हुन ।
२०७६ फागुन ३० गते सिन्धुलीमाढीमा आयोजित कार्यक्रममा नागरिक समाजले आफ्ना नियमित कार्यक्रमहरुमा एक सेसन कोरोना भाईरसको बारेमा सचेतना कार्यक्रम गर्ने भएका छन । यस्तै प्लान इन्टरनेशनल नेपाल, रिलिफ नेपाल, लगाएतका संस्थाहरुले कोरोना भाइरसको सचेतना दिने पर्चा पम्पलेट प्रकाशन गरि सबै स्थानीय तहमा पु¥याउने भएका छन ।


कार्यक्रममा स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहले कोरोना भाईस, यसको संक्रमण, लक्षणहरु, जोगिने उपायहरु, हालसम्म नेपालको तयारी, नागरिक समाज र पत्रकारहरुको भूमिकाका विषयमा सहजीकरण गरेका थिए । उनले जिल्लामा औषधिको अभाव नभएको समेत जनाएका छन ।
यस्तै उनले नागरिक समाज र पत्रकारहरुको सकारात्मक सहयोगको अपेक्षा रहेको समेत वताएका छन । उनले कोरोनाबाट बच्ने उपाय र सावधानीलाई सकारात्मक रुपमा सन्देश दिन सबैको सहयोग आवश्यक रहेको बताए ।
सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रलाद कुमार पोखरेलले औषधिको अभाव भएको हल्लाले सुगर प्रेसरका औषधि चाहिने भन्दा बढी खपत हुने गरेकोे बताए । उनले अनावश्यक सन्त्रास र हल्लालाई कम गर्न नागरिक समाज र सञ्चारको भूमिका महत्वपूर्ण हुने बताए । उनले सिन्धुली अस्पतालको आईस्युलेसन वार्डलाई व्यवस्थित गर्न संघसंस्थालाई सहयोग गरिदिन आग्रह गरेका छन । यस्तै उनले उक्त वार्डमा काम गर्ने कर्मचारीलाई लगाउने सुरक्षा पोशाक उपलब्ध गराई सहयोग गरिदिन संघसंस्थालाई आग्रह समेत गरेका छन ।
यसैबीच कार्यक्रममा सामुदायिक मेलमिलाप कार्यक्रम सिन्धुलीले स्वास्थ्यकर्मीको एप्रोन (पोशाक) खरिद सिन्धुली अस्पताललाई सहयोग गर्ने र सचेतनाको काम समेत गर्ने भएको छ ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य द्वारिका काफ्लेले सञ्चार क्षेत्रले सचेतनाका कार्यक्रम अगाडी बढाउने र प्रचारात्मक सहकार्य आवश्यक रहेको बताए ।




















