सिन्धुली । तिनपाटन गाउँपालिकाको चकमकेमा साझा सुविधा केन्द्र निर्माण सुरु भएको छ । तिनपाटन गाउँपालिकाले जग्गा उपलब्ध गराएपछि भवन निर्माण कार्य सुरु भएको हो । ढाका उद्योगलाई लक्षित गरि उक्त सुविधा केन्द्र निर्माण सुरु भएको हो ।
घरेलु तथा साना उद्योग विकास समिति सिन्धुलीको ५ लाख आर्थिक सहयोगमा उक्त भवन बन्न थालेको भवन निर्माण समितीका अध्यक्ष तारा रानाले बताईन ।
उनका अनुसार गाउँपालिकाले उक्त भवन निर्माणका लागि २ लाख रुपैंया थप सहयोग गर्ने भएको छ ।
डिमेगा सिन्धुलीको सहजीकरणमा बन्न लागेको उक्त भवन असार मसान्तसम्म निर्माण सम्पन्न हुने गरि निर्माण हुदै छ । उक्त भवन निर्माण सकिएपछि गाउँपालिकाले उपाध्यक्ष उद्यमशिलता विकास कार्यक्रम अन्तर्गत ४५ दिने ढाका बुनाई तथा सिलाई तालिम लिएका महिलाहरुले सामुहिक ढाका उत्पादन गर्ने गरि व्यवस्थापन गरिने भएको डिमेगा सिन्धुलीका अध्यक्ष तोतादेवी बोगटीले बताईन ।
बोगटीका अनुसार गाउँपालिकाले तालिममा सहयोग गरेका ढाकाका १० वटा तान र ३ वटा सिलाई मेसिन उक्त सुविधा केन्द्रमा राखिने छ । तालिम लिएका ३० जना उद्यमीहरुले उक्त केन्द्रमा उत्पादन गरेको ढाका गाउँपालिकाले नै बजारको व्यवस्थापनमा सहयोग गर्ने भएको छ । गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर थापाले बजारीकरणमा सहयोग गर्ने बताए । उनले गाउँपालिकाले आफ्ना कार्यक्रममा खादाका रुपमा ढाकालाई प्रयोग गर्ने र गाउँपालिकाले दिने गिफ्टमा पनि ढाकालाई प्रयोग गर्ने बताए ।




















