सिन्धुली । नियमित बचत, ऋण लगानी सहकारीका सामान्य काम हुन तर दुधौली नगरपालिकाको एक सहकारीले भने त्यो भन्दा अझ अर्को फरक काम गरेको छ नमुना कृषि सहकारी दुधौलीले । सहकारीले बाँझो रहेका र किसानले खेती गरिरहेका जग्गालाई एकीकृत गरि आधुनिक खेतिलाई अगाडि बढाउन थालेको छ । सहकारी मार्फत कृषि उत्पादनलाई बढावा दिन ५० विघा जमिनमा नमुना खेति गर्न सुरु गरेको छ ।
दुधौली नगरपालिका–२ मा करिब एक सय १७ परिवार किसानको ५० बिघा जग्गा लिएर उक्त काम सुरु गरेको हो । जग्गा धनिलाई प्रतिविघा वार्षिक ३२ मुरी धान उपलब्ध गराउने सर्तमा उक्त जग्गा लिएको सहकारीले जनाएको छ । ५० बिघाबाट काम गुरु गरेको सहकारीको २ विघा जमिनमा कृषि परियोजना सञ्चालन गर्ने योजना छ ।
सहकारीले सञ्चालन गर्ने उक्त परियोजनामा दैनिक ज्यालादारीमा काम गर्न इच्छुक स्थानीयलाई रोजगारीमा पनि प्राथमिकता दिइने संस्थाका अध्यक्ष रुद्रदीष् ढकालले बताए । उक्त जमिनमा धान खेति गरिने पनि उनले बताए । उनका अनुसार उत्पादित धान भण्डारण, प्रशोधनमा भने समस्या रहेको छ ।
सिंचाईको सुविधा, समथर र उब्जाउ जग्गा भएकाले उत्पादनमा समस्या नभएको उनको भनाई छ । उनका अनुसार भण्डारण नै समस्या हो ।
धान रोप्नका लागि पनि प्रशस्त पुग्ने सिंचाइ व्यवस्था छ । जग्गा घुम्ने गरी कृषि सडक बनाउन प्रदेश सरकारले बजेट दिएको छ । तर भण्डारणमा समस्या हुने देखियो,’ नमूना कृषि सहकारी संस्थाका अर्का अगुवा श्यामचन्द्र खतिवडा बताउँछन् ।
यो परियोजनाका लागि प्रदेश सरकारले चक्लाबन्दी र कृषि सडकका लागि ५० लाख रुपैयाँ अनुदान उपलब्ध गराएको छ । आधुनिक कृषि यन्त्र र उपकरण खरिदका लागि प्रदेश सरकारले एक करोड दिएको छ भने समुदायबाट २५ लाख उठि सकेको छ ।
उक्त परियोजनालाई जग्गा उपलब्ध गराउने प्रत्येक किसानले न्यूनतम् १० कित्ता शेयर लिनुपर्ने प्रावधान राखिएको संस्थाका अगुवा खेटराज अधिकारीले बताए ।
यस्तै सहकारीको भवन निर्माणका लागि आवश्यक पर्ने जग्गा खरिद गर्न ६० लाख रुपैयाँमध्ये कूल लागतको २५ प्रतिशत दुधौली नगरपालिकाले दिने भएको छ । परियोजनामा साढे तीन महिनादेखि तीन वटा स्काभेटरको प्रयोग गरी जग्गा सम्याई रहेको छ । जसको सहजीकरण कृषि ज्ञान केन्द्र सिन्धुलीले गरिरहेको छ । उक्त अभियानमा २० जना स्थानीयहरु निरन्तर खटिरहेका छन् ।



















