सिन्धुली । तीनपाटन गाउँपालिकाले महिला उद्यमीहरुले तयार गरेको ढाकाको खादालाई आफ्ना कार्यक्रममा प्रयोग गर्ने भएको छ । उपाध्यक्ष उद्यमशिलता विकास कार्यक्रम अन्तर्गत गाउँपालिकाका ४ वटा वडाका ३० जना महिलालाई ढाकाको तालिमपछि उत्पादन हुने ढाकाको खादा सहितका सामानहरु गाउँपालिकाको कार्यक्रममा प्रयोग गरिने गाउँपालिकाले जनाएको छ ।
तीनपाटन गाउँपालिकाको आयोजना तथा डिमेगाको सहजीकरणमा भएको ४५ दिने ढाका बुनाई तथा सिलाई तालिमको समापनका अवसरमा शनिबार लाम्पानटारमा भएको कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर थापा मगर र प्रमुख प्रशासकीय अधिकृत राजन थापाले यस्तो प्रतिवद्धता जनाएका हुन ।
उक्त अवसरमा बोल्दै गाउँपालिका अध्यक्ष थापाले गाउँपालिकाका महिलालाई संमृद्ध र आत्मनिर्भर बनाउनका लागि गाउँपालिकाले तालिम दिएको बताउँदै महिला उद्यमीले तयार गरेका ढाकाका खादा, टोपी, व्याग, रुमाल लगाएतका सामान गाउँपालिकाको कार्यक्रममा प्रयोग गर्ने बताए । बजारीकरणको सुरुवात नै ढाकाको स्वागतबाट गाउँपालिकाले सुरु गर्ने प्रतिवद्धता उनको छ ।
यस्तै कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत थापाले महिला उद्यमीको उत्पादनलाई प्रचार प्रसार र प्रोत्साहन गर्न गाउँपालिकाको कार्यक्रममा प्रयोग गर्ने बताए । गाउँपालिकाले उद्यमीहरुलाई सधै सहयोग गरेर जाने र उत्पादित सामानको बजारीकरणमा समेत सघाउने बताए ।
कार्यक्रममा बोल्दै डिमेगा सिन्धुलीका अध्यक्ष तोतादेवी बोगटीले देशके समृद्धि उद्यमशिलताबाट हुने बताईन । विकासको आधार नै आर्थिक स्तर र जीवनस्तर उकास्नु भएको बताउँदै बोगटीले उद्यमी भएर काम गर्न महिला उद्यमीहरुलाई आग्रह गरिन ।
डिमेगा सिन्धुलीका अध्यक्ष बोगटीको अध्यक्षता एवम गाउँपालिकाका अध्यक्ष मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रशिक्षक बेलीमाया गिनेल, सहभागिहरु उर्मिला घिमिरे, तारा राना लगाएतले मन्तव्य व्यक्त गरेका थिए । तालिममा बेलीमाया गिनेल र मिना राना मगरले प्रशिक्षण दिएका थिए । तालिममा वडा नं. ४, ९, १०, ११ का ३० जना महिलाहरुको सहभागिता रहेको थियो । समापनका अवसरमा सहभागिलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।




















