सिन्धुली । फिक्कल गाउँपालिकाले ९६ जनालाई आइतबारदेखि रोजगारी दिएको छ । गाउँपालिकाका ६ वटै वडामा विकास निर्माणका योजना छनौट गरि उनीहरुलाई रोजगारी दिईएको गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवारले बताइन ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार फारम भरेका ९६ जनालाई उक्त रोजगारी दिईएको उनले जानकारी दिईन ।
गाउँपालिकामा आएको १६ लाख बजेट मध्ये १२ लाख श्रमिकलाई ज्याला दिने गरि रोजगार सृजना गरेको सुनुवारले जानकारी दिईन । गाउँपालिकामा बेरोजगार फारम भरेका ३ हजार ३३ जनामध्ये ९६ जनालाई १६ दिन रोजगारी दिने भएको हो ।
प्रतिव्यक्ति प्रतिदिन ७१५ रुपैंया ज्याला दिने गरि उनीहरुलाई रोजगारी दिईएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले फिक्कल गाउँपालिका वडा नं. १ मा भुक्षय नियन्त्रण, वडा नं. २ को मावि महादेवडाँडा र मावि ढोडेनीमा सडकको नाली खन्ने काम, वडा नंं ३ मा फिक्कल जाने बाटोको सिडि निर्माण, वडा नं. ४ मा फलफुलको विरुवा रोप्ने र वडा नं. ६ मा वृक्षारोपण कार्यक्रम तय गरि रोजगारी दिईएको उपाध्यक्ष सुनुवारले बताईन ।
गाउँपालिकामा ३ हजार ३३ जना बेरोजगारले रोजगारीका लागि आवेदन दिएका थिए जसमा १ हजार ८९ महिला र १९ सय ४४ जना पुरुष रहेका छन । ती मध्ये पहिलो चरणमा ९६ जनाले रोजगारी पाएका हुन । आगामी आर्थिक वर्षमा अरुलाई रोजगारी दिईने उनले बताइन ।




















