सिन्धुली । गोलञ्जोर गाउँपालिकाका सात वटै वडा कार्यालयमा सचिव नहुदा कामकाज सञ्चालनमा समस्या भएको छ । लामो समयदेखि वडा कार्यालयहरु सचिव विहिन अवस्थामा छन । वडाका नियमित काममा बाधा पुग्दा गाउँपालिकामा समेत प्रतिवेदनहरु आउन सकेका छैनन । जसले गर्दा गाउँपालिकाको प्रगति देखाउन समेत समस्या सृजना भएको छ ।
खरिदार स्तरका कर्मचारी समेत अभाव हुदा वडा कार्यालयहरु प्राविधिक तथा अन्य कर्मचारीको सहायतामा चलाईएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि न्यौपानेले बताए । उनका अनुसार वडा नं. २ वितिजोरमा एक खरिदार रहेकोमा ती पनि संघमा समायोजन भएपछि सबै वडाहरु सचिव विहिन भएका छन ।

उनका अनुसार गाउँपालिकामा पनि पर्याप्त कर्मचारी नभएकाले गाउँपालिका नै सञ्चालनमा समस्या आइरहेको छ । ‘रातदिन काम गर्दा पनि सेवा प्रवाहमा समस्या हुन थालेको छ’ उनले भने । गाउँपालिकाले ३ चोटीसम्म सामान्य प्रशासन मन्त्रालयलाई कर्मचारी माग गरि पत्राचार गरे पनि मन्त्रालयले कर्मचारी पठाउन नसकेको उनले बताए । कर्मचारी व्यवस्थापन हुन नसक्दा कार्य सम्पादनमा समस्या भएको न्यौपानेले जानकारी दिए ।
‘उपलब्ध कर्मचारीलाई नभएको ठाउँमा खटाउने, पठाउने गरेर काम चलाएका छौं ।’ ‘समायोजनले झनै समस्या पारेको छ । कोहि कर्मचारी गए, आउने आएका छैनन, उनले थपे ।



















