सिन्धुली । कमलामाई नगरपालिका सिन्धुलीले नगरबासीलाई स्वरोजगार बनाउने उद्देश्यका साथ एक घर एक तान अभियान संचालन गर्ने भएको छ । स्थानीय तहलाई परिचित गराउने गरी ढाका कपडा उत्पादन गर्न एक घर एक तान अभियान संचालन गर्न लागेको कमलामाई नगरपालिकाका प्रमुख खड्ग वहादुर खत्रीले बताए ।
यसको पहिलो चरणमा नगरपालिकाको वडा नम्वर ८ लाई पकेट क्षेत्रका रुपमा विकास गरी उत्पादन सुरु गरिएको खत्रीले बताए । हाल त्यस क्षेत्रमा १३ वटा तानबाट २० जना उद्यमीहरु काम गरि रहेको उनले जानकारी दिए ।
उद्यमीहरुले उत्पादन गरेको उत्पादन विक्रि नभएका स्थानीय तहले नै खरिद गर्ने गरी काम अगाडी बढाइएको उनले बताए । बजारका लागि उद्यमीहरुले चिन्ता लिनु नपर्ने उनले बताए ।
‘सवै उत्पादन नगरपालिकाले खरिद गर्ने तयारी गरेको छ’ खत्रीले भने । खरिद गरिएको सामान विक्रीका लागि बजार खोजि भइसकेको पनि उनले जनाए ।
नगरपालिकाले आफ्ना कर्मचारीहरुलाई राज्यले दिएको पोशाक भत्ता वापतको रकमबाट खरिद गरिने पोशाक नै ढाकाको पोशाक बनाउने योजना समेत बनाएको छ । नगरपालिका मातहतमा करिव ५ सय कर्मचारी कार्यरत छन । नगरपालिकाले विपि राजमार्ग र मदनभण्डारी राजमार्गलाई केन्द्र हुने गरि विक्रीकेन्द्र सञ्चालनमा ल्याइने पनि नगरपालिकाले जनाएको छ ।
एउटा ढाकाको तान वनाउनको लागी २० हजार रुपैया लाग्ने र त्यसबाट एउटा व्यक्तिले मासिक ३० हजार भन्दा बढी आम्दानी गर्ने गरेको नगरपालिकाले जनाएको छ ।




















