सिन्धुली । नेपाली कांग्रेसको १५ औँ नियमित महाधिवेशनलाई लक्षित गर्दै शेरबहादुर देउवा नेतृत्वको कांग्रेसले जिल्लामा पार्टीको संगठनात्मक गतिविधि तिव्र पारेको छ । आगामी मंसिर २१, २२ र २३ गते हुने केन्द्रीय नियमित महाधिवेशनलाई सफल बनाउन जिल्लाका संघिय निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र तथा स्थानीय तहमा नेतृत्व चयन गरिरहेको छ ।

संघ, प्रदेश र स्थानीय तह स्तरका कार्यसमिति निर्माणको काम अघि बढाएको नेपाली कांग्रेसका सभापति खड्ग बहादुर वाईवाले जानकारी दिएका छन् । असोज २२ गते सम्पन्न क्षेत्र नम्बर १ को क्षेत्रीय भेलाले विभिन्न पालिकाका संयोजकहरू चयन गरेको थियो ।
सिन्धुली क्षेत्र नं. १ को क्षेत्रीय भेलाले अर्पना खड्काको नेतृत्वमा क्षेत्रीय समिति निर्माण गर्नुका साथै क्षेत्र नं. १ का स्थानीय तहहरुको संयोजक तोकेको छ । तीनपाटन गाउँपालिकाको संयोजकमा नानीराम कार्की, दुधौली नगरपालिकाको संयोजकमा लक्ष्मी धामी र गोलन्जोर गाउँपालिकाको संयोजकमा भुवनबहादुर हायुलाई मनोनित गरेको छ ।
त्यस्तै, प्रदेशसभा क्षेत्र नम्बर १ (क) को संयोजकमा खुपेन्द्रराज भण्डारी (राजु) चयन भएका छन् । प्रदेशसभा क्षेत्र नम्बर १ (ख) र फिक्कल गाउँपालिकाको संयोजक चयन प्रक्रिया भने तयारीकै क्रममा रहेको नेपाली कांग्रेस (देउवा) समूहले जनाएको छ ।
यसैगरी, क्षेत्र नम्बर २ अन्तर्गत जिल्ला संयोजक खड्गबहादुर वाइबाको अध्यक्षतामा भएको भेलाले क्षेत्री संयोजकमा भगवान माझीलाई चयन गरेको छ । त्यस्तै, क्षेत्र नम्बर २ (ख) प्रदेशसभा क्षेत्रको संयोजकमा प्रतापसिंह वाइबा मनोनीत भएका छन् ।
भेलाले विभिन्न पालिकाका संयोजकहरू सर्वसम्मत रूपमा चयन गरेको छ । भेलाले मरिण गाउँपालिकाको संयोजकमा सरोज मैनाली, हरिहरपुरगढी गाउँपालिकाको संयोजकमा हर्षबहादुर श्रेष्ठ, घ्याङ्लेख गाउँपालिकाको संयोजकमा दूधबहादुर वाइबा र सुनकोसी गाउँपालिकाको संयोजकमा जय सूर्यवंशीलाई चयन गरेको छ । कमलामाई नगरपालिका र क्षेत्र नं. २ क को भेला बाँकी रहेको छ ।
मनोनीत संयोजकहरू कार्यसमिति निर्माण, क्षेत्रीय प्रतिनिधि छनोट तथा प्रदेशसभा र क्षेत्रीय महाधिवेशनको तयारीमा जुटिरहेका छन् । क्षेत्र नम्बर १ र २ का अधिवेशन प्रक्रिया सफल बनाउँदै जिल्ला, बागमती प्रदेश हुँदै केन्द्रीय महाधिवेशनसम्मका कार्यक्रम व्यवस्थित रूपमा सम्पन्न गने गराइने जनाएको छ ।
नेपाली कांग्रेसको १५ औँ नियमित महाधिवेशन मंसिर २१, २२ र २३ गते सम्पन्न गर्ने लक्ष्य सहित पार्टीका विभिन्न तहमा संगठनात्मक तयारी अघि बढाइएको जिल्ला सभापति खड्ग बहादुर वाईवाले जानकारी दिए ।





















