सिन्धुली । सोमबार खैरो हेरोइन सहित २९ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । सुनकोशी गाउँपालिका–१ दुम्जा बजार नजिकबाट प्रहरीले ९० दशमलव १६ ग्राम खैरो हेरोइन सहित धनुषाको मिथिला नगरपालिका–४ ढल्केबर निवासी २९ वर्षीय मञ्जित योञ्जनलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई भाग्न खोज्दा हवाई फायर गरि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बीपी राजमार्ग अन्तर्गत दुम्जा बजार नजिक विशेष सूचनाका आधारमा गरिएको चेकजाँचका क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सुचना अधिकारी बिजय श्रेष्ठले जानकारी दिए ।
योञ्जन काठमाडौंबाट रामेछापतर्फ जाँदै गरेको प्रदेश ३–०२–००१ प १६२२ नम्बरको मोटरसाइकलमा सवार थिए । उनले बोकेको कालो रङको झोलाभित्र कालो प्लाष्टिकमा राखिएको सेतो प्लाष्टिकले बेरिएका दुई प्याकेटमा खैरो हिरोईन फेला परेको श्रेष्ठले प्रेस विज्ञप्ती जारी गर्दै जानकारी दिएका छन् ।
लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास, इलाका प्रहरी कार्यालय खुर्कोट र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
लागुऔषध फेला परेपछि नियन्त्रणमा लिन खोज्दा भाग्न खोजेका उनलाई प्रहरीले हवाई फायर गरी नियन्त्रणमा थियो । पक्राउ परेका योञ्जनलाई बरामद लागूऔषध र मोटरसाइकल सहित इलाका प्रहरी कार्यालय खुर्कोटमा राखी थप अनुसन्धान सुरु गरिएको श्रेष्ठले जानकारी दिए ।





















