सिन्धुली । छिमेकी गाउँपालिका हरिहरपुरगढी गाउँपालिकामा अफ्रिकन स्वाइन फिभर रोगको प्रकोप देखिएपछि मरिण गाउँपालिकाले सम्पूर्ण व्यावसायिक तथा व्यक्तिगत रूपमा बंगुरपालन गर्ने कृषकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
गाउँपालिकाले जारी गरेको सचेतना सूचनामा बंगुरमा अचानक मृत्यु हुने, उच्च ज्वरो, दाना नखाने, अत्यधिक कमजोरी, छालामा रातो वा निलो दाग, बान्ता, पखाला तथा सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिएको भन्दै यस्ता लक्षण देखिएमा पशु स्वास्थ्यकर्मीलाई जानकारी गराउन समेत अनुरोध गरेको छ ।
त्यस्तै रोगको शंका लागेको बंगुरलाई बेच्ने, काट्ने वा अन्यत्र ओसारपसार नगर्न, बाहिरी क्षेत्रबाट स्वास्थ्य प्रमाणपत्र बिना बंगुर खरिद नगर्न तथा अवैध रूपमा बंगुर र बंगुरजन्य पदार्थको ढुवानी पूर्ण रूपमा रोक्न गाउँपालिकाले सूचना मार्फत आग्रह गरेको छ ।
मरिण गाउँपालिकाले बंगुर फार्ममा जैविक सुरक्षा (बायोसेक्युरिटी) कडाइका साथ लागू गर्न पनि अनुरोध गरेको छ । अन्य फार्ममा जाँदा जुत्ता, कपडा, हात, उपकरण तथा सवारी साधनको निसंक्रमण गर्न, बाहिरी व्यक्तिको प्रवेश नियन्त्रण गर्न र नयाँ खरिद गरिएका बंगुरलाई छुट्टै राखेर स्वास्थ्य निगरानीपछि मात्र अन्य बंगुरसँग मिसाउन सुझाव दिइएको छ ।
मृत बंगुरको शव जथाभावी फाल्ने, बेच्ने वा अन्यत्र लैजाने कार्य नगर्न पनि गाउँपालिकाले चेतावनी दिएको छ । गाउँपालिकाले रोगको रोकथामका लागि सरसफाइ, सतर्कता र जैविक सुरक्षा अपनाउँदै शंकास्पद लक्षण देखिएमा तत्काल सम्बन्धित पशु स्वास्थ्यकर्मी वा मरिण गाउँपालिकामा जानकारी गराउन सबै कृषकसँग अनुरोध गरेको छ ।





















