सिन्धुली/भूकम्पपछिको पुनर्निर्माणको सबै काम अब स्थानीय तहबाट हुने भएको छ । जसका लागि जिम्मा स्थानीय तहहरुलाई हस्तान्तरण गरिएको छ । पुननिर्माणमा स्थानीय तहलाई जिम्मेवार बनाउने सरकारी नीति अनुरुप जिल्लाका नौ वटै स्थानीय तहलाई कामको जिम्मेवारी हस्तान्तरण गरिएको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ सिन्धुलीले जनाएको छ ।
जिल्लाका कमलामाई नगरपालिका, दुधौली नगरपालिका, तीनपाटन गाउँपालिका, फिक्कल गाउँपालिका, गोलाञ्जोर गाउँपालिका, सुनकोसी गाउँपालिका, मरिण गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका र घ्याङ्लेक गाउँपालिकालाई बाँकी कामको जिम्मेवारी हस्तान्तरण गरिएको इकाइ प्रमुख देवनारायण प्रसाद यादवले बताए ।
उनका अनुसार जिल्लाका सबै स्थानीय तहका प्रमुख तथा प्रशासकिय प्रमुख र पुननिर्माण प्राधिकरणबीच समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ ।
समझदारीमा हस्ताक्षर भएसँगै प्राधिकरणले आवश्यक जनशक्ति स्थानीय तहमा पठाउने छ । प्राधिकरणबाट खटिएका कर्मचारीलाई स्थानीय तहले पुनर्निर्माणको काममा मात्रै लगाउने गरि स्थानीय तहसँग सम्झौता भएको उनले बताए ।
जिल्लामा सडक, पानी, दक्ष जनशक्ति पर्याप्त नहुनु, निर्माण सामग्रीको महँगी, भूकम्प प्रभावितको ऐलानी जग्गा हुनु जस्ता समस्याले पनि निजी आवास पुनर्निर्माणले तिव्रता लिन नसकेको बेलामा प्राधिकरणले सबै जिम्मा स्थानीय तहमा दिएको बताउँदै उनले अब पुननिर्माणले गति लिन सक्ने विश्वास व्यक्त गरे ।



















