सिन्धुली । फिक्कल गाउँपालिका वडा नं. २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा गरिएको छ । शनिवार एक कार्यक्रमको आयोजना गरि उक्त वडालाई निःशुल्क तथा अनिवार्य शिक्षा लागु भएको वडा घोषणा गरिएको हो ।
चार वर्षदेखि १३ वर्षसम्मका सबै बालबालिका विद्यालय गएको, १३ वर्षसम्मका सबै बालबालिकाले आधारभूत तह उत्तिर्ण गरेको तथा माध्यामिक तहसम्मको शिक्षा निःशुल्क रहेको सुनिश्चिता गरि निःशुल्क तथा अनिवार्य शिक्षा कार्यान्वयन भएको वडा घोषणा गरिएको हो ।
फिक्कलको संमृद्धिको मूल आधार, कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र रोजगार भन्ने मूल नारा सहित आयोजना गरिएको कार्यक्रममा वडा भित्रका बालबालिका आधारभूत शिक्षाको पहुँचबाट बञ्चित नहुने र माध्यामिक तहसम्मको शिक्षा पूर्ण रुपमा निःशुल्क गरिने प्रतिवद्धता समेत जनाएका छन् ।
उक्त प्रतिवद्धतामा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक, नागरिक समाज, स्थानीय बासीहरु र सरोकारवालाहरुले प्रतिवद्धतामा हस्ताक्षर गरेका छन् ।
वडा अध्यक्ष शंकर भण्डारीको अध्यक्षतामा भएको घोषणा कार्यक्रममा गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले वडालाई निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा गरेकी हुन् ।





















