सिन्धुली । मरिण गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरि गाउँपालिका अध्यक्ष एवम् खोप समन्वय समिति मरिणका संयोजक विमर्श मुक्तानले गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरेका हुन् ।
स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागीता, पूर्ण खोप सुनिश्चितता तथा दिगोपना हाम्रो प्रतिवद्धता र पूर्ण खोप सुरक्षित भविष्य भन्ने नारा सहित मरिणलाई पूर्ण खोप घोषणा गरिएको हो । मरिण गाउँपालिका र गाउँपालिका खोप समन्वय समितिको आयोजनामा कार्यक्रम गरिएको थियो । १६ देखि २३ महिनासम्मका सम्पूर्ण बालबालिकाले उमेर अनुसारका सबै खोप प्राप्त गरि सकेको सुनिश्चित भएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको गाउँपालिकाले जनाएको छ ।
मरिण गाउँपालिकाले आर्थिक वर्ष २०७३/०७४ देखि निरन्तर रूपमा पालिकालाई हरेक वर्ष पूर्ण खोप सुनिश्चितता घोषणा गर्दै आएको छ । कार्यक्रममा गाउँपालिकाभित्रका सबै वडाका स्वास्थ्य संस्था तथा वडा खोप समन्वय समितिलाई वडा पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र सहित सम्मान गरिएको थियो । साथै जिल्ला खोप समन्वय समितिलाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो ।
गाउँपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणाका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी जिल्ला खोप समन्वय समितिमा अनुरोध गरेपछि जिल्ला खोप समन्वय समितिको निर्णय अनुसार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने प्रावधान रहेको छ ।
कार्यक्रममा जिल्ला खोप समन्वय समितिका सचिव तथा जनस्वास्थ्य कार्यालयका प्रमुख बिमल पटेलले गाउँपालिका अध्यक्ष विमर्श मुक्तानलाई पूर्ण खोप सुनिश्चितता एवं दिगोपनाको प्रमाणपत्र प्रदान गरेका थिए ।





















