सिन्धुली । जिल्लाको फिक्कल गाउँपालिकाले एसइइमा उत्कृट नतिजा ल्याएको छ । फिक्कल गाउँपालिका भित्र रहेका सबै सामुदायिक विद्यालयहरुको नतिजा उत्कृष्ट छ । १३ वटा सामुदायिक विद्यालय रहेको फिक्कलमा सबै विद्यालयको नतिजा उत्कृष्ट छ । गाउँपालिकाभित्रको समग्र नतिजा ९१.५७ प्रतिशत रहेको छ । जिल्ला र देशभरको रिजल्टभन्दा पालिकाका सबै विद्यालयको नतिजा धेरै छ ।
एसइइमा सिन्धुली जिल्लाको नतिजा ६७.०७ प्रतिशत, बागमती प्रदेशको नतिजा ७८.०३ प्रतिशत र नेपालभरीको ६५.९८ प्रतिशत नजिता रहेको छ । फिक्कलको नतिजा जिल्लाका अन्य आठ स्थानीय तहभन्दा उत्कृष्ट रहेको छ ।
१३ सामुदायिक विद्यालयमध्ये ६ वटा सामुदायिक विद्यालयका सतप्रतिशत विद्यार्थी एसईईमा उत्तिर्ण भएका छन् । सत प्रतिशत नतिजा ल्याउने विद्यालयहरुमा फिक्कल मावि सोल्पाभञ्ज्याङ, मावि रातमाटा खोलागाउँ, चण्डिका मावि चनौटे, प्रकाशोदय मावि खुरहरी खोलागाउँ, मावि सुम्नामसुन्तले चण्डिभञ्ज्याङ र मावि काउलेडाँडा रहेका छन् ।
यस्तै मावि महादेवडाँडाका ९७.३० प्रतिशत विद्यार्थी एसइइमा पास भएका छन् । महाकाली मावि पोटी खाङसाङका ९२ प्रतिशत, मावि लुम्तीका ९०.९१ प्रतिशत, रत्नगंगा मावि सोखु डिहिटारका ८६.६७ प्रतिशत, सुनकोशी मावि खाङसाङका ८६.६७ प्रतिशत, जनजागृति मावि ढोडेनीका ८० प्रतिशत र मावि सालुकेका ६८.४२ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।
सामुदायिक विद्यालय मात्र रहेको यो स्थानीय तहमा उत्कृष्ट हुने विद्यार्थीले ३.७१ जिपिए प्राप्त गरेका छन् । मावि सुम्नाम सुन्तले चण्डीभञ्ज्याङकी दिपिका सुनुवार ३.७१ जिपिए अंक सहित फिक्कल गाउँपालिका भित्रकै उत्कृष्ट नजिता प्राप्त गर्ने विद्यार्थी बनेकी छिन् । यस्तै ३.५६ जिपिए सहित महाकाली मावि पोटी खाङसाङका छात्र सन्देश मगर दोस्रो भएका छन् । यो वर्ष ३३९ जना विद्यार्थी एसइइमा सहभागि भएका थिए । जसमध्य् २७ जना विद्यार्थी नन ग्रेडिङमा परेका छन् ।
एसइइमा गत वर्ष पनि फिक्कलले ९५.६० प्रतिशत नतिजा प्राप्त गरेको थियो । गत वर्ष सात वटा विद्यालयले शतप्रतिशत विद्यार्थी पास गराएका थिए ।
फिक्कल गाउँपालिकाले एसइइमा शतप्रतिशत नतिजा ल्याउन सफल विद्यालय र उत्कृष्ट विद्यार्थीलाई विहिबार सम्मान गरेको छ । एक कार्यक्रमको आयोजना गरि गाउँपालिकाले सम्मान गरेको हो ।























