सिन्धुली । हातेमालो साना किसान सहकारीले आफ्ना २१ जना सदस्यहरुले लिएको ऋण बापत तिरेको व्याजमध्ये ६० प्रतिशत व्याज फिर्ता गरेको छ । युवा तथा साना व्यवसायी स्वरोजगार कोष अन्र्तगत सञ्चालित कार्यक्रमबाट ऋण लिई व्यवसाय सञ्चालन गरेका युवाहरुको शनिबार एक कार्यक्रमको आयोजना गरि व्याज फिर्ता गरिएको हो । लिएको ऋणको समयमा नै ब्याज तिर्ने किसान तथा व्यवासायीलाई व्याज फिर्ता गरिएको हो ।
सहकारीको कार्यालय कनपा ५ मधुटारमा सहकारीका अध्यक्ष राम बहादुर विश्वकर्माको अध्यक्षता एवम् प्रदेश नं. ३ का सांसद विनोद खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ऋण लिएर विभिन्न व्यवसाय गर्ने व्यवसायीले ३ हजार ५ सय ८२ रुपैंया देखी १९ हजार ४ सय ३८ रुपैंया सम्म ब्याज रकम फिर्ता लिएका छन् । उनीहरुलाई ३ लाख ११ हजार ८ सय ६८ रुपैया फिर्ता गरेको सहकारीका अध्यक्ष राम बहादुर विश्वकर्माले जानकारी दिए । उक्त रकम प्रदेश सांसद खड्काले हस्तान्तरण गरेका छन ।
कार्यक्रममा बोल्दै प्रदेश नं. ३ का सांसद विनोद खड्काले नेपालको आर्थिक विकासमा सहकारीहरुको योगदान उल्लेख्य रहेको बताउँदै सुखी नेपाली, संमृद्ध नेपालको नारालाई सफल बनाउन सहकारी संस्थाहरुसँग सहयोगको अपेक्षा राज्यले गरेको बताए । उनले देशको आर्थिक विकासमा सहकारी संस्थाको अपरिहार्यता र महत्व धेरै रहेको बताउदै उद्यमी, व्यवसायी तथा साना किसानलाई ऋणमा व्याज फिर्ताले प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे । उनले व्यवसाय प्रवद्र्धन र सञ्चालनमा सहकार्य गर्न सबै किसानहरुलाई आग्रह समेत गरेका छन । प्रदेश सरकारले कृषि आधुनिकीकरणमा सहयोग गर्नका लागि ६० देखि ८० प्रतिशत सम्मको अनुदानको कार्यक्रम ल्याएको बताउँदै त्यस्ता कार्यक्रममा सहभागि हुन र सहभागि गराउन किसान तथा सहकारीलाई आग्रह गरेका छन । किसानलाई कृषि तथा पशुपालनमा सहयोग गर्न आफु सधै लाग्ने प्रतिवद्धता समेत उनले व्यक्त गरे ।
यसैबीच सहकारीका अध्यक्ष विश्वकर्माले ११ औ वार्षिक साधारणसभाबाट पास भएको नीति तथा कार्यक्रमबारे जनप्रतिनिधी र कार्यक्रममा उपस्थितहरुलाई जानकारी गराएका छन । भने सहकारीको ११ औ वार्षिक साधारण सभामा वितरण गर्न बाँकी उत्कृष्ट मासिक बचतकर्ता, सफल सहकारी बचतकर्ता, उत्कृष्ट दैनिक बचतकर्ता, सफल बचतकर्ताहरुलाई सम्मान तथा प्रशंसा पत्रद्धारा सम्मान गरिएको छ ।
यस्तै उत्कृष्ट मासिक बचतकर्ता उर्मिला श्रेष्ठ, सफल सहकारी बचत कर्ता सितामाया कामी, ललितमाया थापा, बालकुमारी पोख्रेल, सफल बचत कर्ता लक्ष्मी श्रेष्ठलाई प्रमाणपत्र, भित्ते घडिद्धारा सम्मान गरिएको थियो । बाल बचततर्फ इशान श्रेष्ठ, जैविक न्यौपाने, सुस्मिता श्रेष्ठ, सुरुचि घिमिरेलाई पनि शैक्षिक सामाग्रि प्रदान गरिएको थियो ।




















