
प्यारो छोरा,
शुभ आशीर्वाद
तिम्रो एसएमएस अहिले भखरै पढें । केही लेख्दै छु अन्यथा लिने छैनौ । नजिक आइरहेको चुनावमा भोट दिन तिमीले सल्लाह दियौ, खुशी लाग्यो । सात समुद्र पारी दुःख गरेर बसेको छोराले देश सम्झियो, बा आमा सम्झियो । छोरा तिमीलाई थाहा छ, मलाई राजनीति भनेको केहि थाहा छैन । झन् तिम्री आमाको त कुरै छोडौं । तिमी सिकिस्त विरामी हुँदा स्वास्थ्य संस्थासम्म पु¥याई दिएर रातभरीसँगै बस्ने, गाह्रो साह्रोमा मन खोलेर सहयोग गर्ने, कसैलाई नराम्रो शब्द नबोल्ने अनि साना ठूला, बुढापाका सबैसँग सल्लाह गरेर योजना बनाई काम गर्ने, ठाउँ बुझेको गाउँ बुझेको, भूगोल बुझेको उम्मेदवार पनि भोट माग्दै हिँडेको देख्छु । वल्लो घर, पल्लो घर पनि त्यस्तै मान्छेलाई भोट दिनु पर्छ है भनेर सल्लाह गर्दैछन् ।
छोरा तिमी परदेश गएको १५ बर्ष भयो । तिमीलाई एसएलसीपछि काठमाडौं पढ्न पठाउँदा त्यो ठूलो नदीमा हामी दुवै बाबु छोरा भासिएका थियौँ नि हो त्यहाँ कत्रो पुल बनेको छ सरर गाडीहरू कुद्छन् । यस्ता पुल र झोलुङ्गे पुल त गनी साध्य छैन । तिमीले घरबाट माटो गोबर लगेर लिपेका स्कुलहरू ठूला विल्डिङ भएका छन्, अस्पताल बनेका छन्, सडक बनेका छन्, खेत जोत्दा तिल्के गोरुलाई फाली लागेर गह्रै रक्ताम्मे भएको तिमीलाई याद होला है ? अहिले त ट्रयाक्टरहरूले एकै छिनमा खेत जोत्दछन् । धेरै कुरा भएको छ छोरा यहाँ । तिमीलाई केहि भएन, देश वर्वाद भयो भनेर नानाभाँतीका नराम्रा कुरा मात्र लेखेर पठाए होलान् तर वास्तविकता त्यस्तो छैन । धेरै धेरै विकास भएका देश जस्तो हुनलाई साधन स्रोतको कमी त पक्कै छ । गर्न धेरै बाँकी भएको कुरा चाहिँ सत्य हो है छोरा ।
अनि छोरा सक्छौ भने एउटा कुरा सबैलाई सम्झाइदेउ न है । यहाँ धेरै मान्छे घरमा दुःख गर्दैनन् । अनावश्यक गफ गर्दछन्, देशको बारेमा राम्रा भन्दा नराम्रा कुरा गर्दछन्, मेहनतमा होइन हावामा फाइदा खोज्दछन् । हाम्रो आफ्नै किसिमको आदर सम्मान र संस्कार हराउँदै गएको छ । यी सबै कुरामा कसरी सुधार गर्ने त्यसको बारेमा चासो राखिदेउ । तिमी जस्ता परदेशमा रहेका धेरै छोरा छोरीहरूले यस बारेमा पक्कै सुधारका कुरा ल्याउनेछौ । तिमीहरू नै हाम्रो सहारा हौ । बुबालाई भोट खसाउन सम्झाएको उल्टै बुबाले हामीलाई सम्झाउनु भयो भनौला ।
छोरा तिमी परदेश बुझ्दैछौ र हामी देश बुझ्दैछौं । छोरा, गुगलको रमाई र भूगोलको भोगाई फरक हुन्छ । गुगलबाट चमत्कार गर्छु भनेर गुड्डी हाँक्नेहरू भूगोलबाट भागि सके । भूगोललाई समृद्ध बनाएपछि मात्र गुगलमा रमाउन सकिन्छ । विकसित देश पहिले भूगोलमा समृद्ध भए अनि गुगलमा रमाए । पहिले त हामीले भूगोलकै चिन्तन गर्नुपर्छ र त्यसको उन्नतिमा दर्शन, सिद्धान्त, विचार र निरन्तर काम गर्नेलाई भोट दिनु पर्छ भन्ने यहाँका युवा पाका सबैको एकमुष्ट सल्लाह छ । कसैको दुई दिने लहै लहैमा लाग्नु हुँदैन भन्ने कुरामा सबै सहमत छन् । सबैले परदेशमा रहेका आफ्ना आफन्तलाई यहि खबर पठाएका छन् रे । त्यसैले मैले पनि तिमीलाई सम्झाएको छु ।
उही तिम्रो दुःखी बाबु
शम्भु दाहाल
थाप्लेभिर, नेपाल




















