सिन्धुली । गत असोजको बाढीका कारण सुनकोशी नदीको पुल भत्किएपछि बालबालिकाले रवरबोटबाटै विद्यालय आवतजावत गर्न बाध्य भएका छन् । ओखलढुङ्गाको ढेबुवा र जेरुङघाटका बालबालिका विद्यालय जान रवरबोटको प्रयोग गर्ने गरेका हुन् ।
ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–१ र सिन्धुलीको फिक्कल गाउँपालिका–६ जोड्ने झोलुङ्गे पुल बाढीले बगाएपछि विगत एक वर्षदेखि उनीहरुको विहान र बेलुकाको यात्रा रवरबोटमा हुने गरेको छ ।
ओखलढुंगाको ढेबुवा र जेरुङका २६ जना विद्यार्थी रबरबोट चढेर जोखिम मोल्दै सुनकोशी नदी पार गरेर पढ्न जान बाध्य भएका हुन् । गाउँमा विद्यालय नभएका कारण उनीहरु नदी बारी रहेको सिन्धुलीको फिक्कल गाउँपालिकाको रत्नगंगा मावि र आधारभूत विद्यालय राईगाउँ तीनखण्डेमा पढ्दै आएका छन् ।
रत्नगंगामा १० जना र आधारभूत विद्यालय राईगाउँमा १६ जना बालबालिकाहरुले पढ्दै आएको रत्नगंगा माविका प्रधानाध्यापक नवराज पौडेलले बताएका छन् । सिन्धुलीको फिक्कल र ओखलढुंगाको सुनकोशी जोड्ने पुल निर्माण सुरु नहुँदा रवरबोटको यात्रा कति हुने निश्चित नभएको प्रधानाध्यापक पौडेलले बताए ।
गत वर्ष बाढीले पुल बगाएपछि विद्यार्थीहरू लामो समय पढाइबाट वञ्चित भएका थिए । बालबालिकाको पढाईमा बाधा पुगेपछि गृहमन्त्रालयबाट गत पुसमा तीनवटा रबरबोट ल्याएर फिक्कल गाउँपालिकाको व्यवस्थापनमा सञ्चालन गरिएको थियो ।
रबरबोटबाटै विद्यार्थीलाई सुनकोशी तार्ने गरिएको गाउँपालिका अध्यक्ष पार्वती सुनुवारले बताएकी छिन् । पुल निर्माणका लागि स्थानीय सरकारको बजेटबाट सम्भव नभएको र संघिय सरकारसँग अनुरोध गरिएको उनले बताएकी छिन् । संघिय सरकारले १ करोड बजेट विनियोजन गरेको भए पनि वर्तमान सरकारले उक्त बजेट कटौती गरेको वा नगरेको कुनै जानकारी नभएको उनले बताईन ।
बालबालिकाको शिक्षामा बाधा नहोस् भनेर वैकल्पिक व्यवस्थाका रुपमा मात्र रबरबोटको प्रयोग गरिएको उनले बताएकी छिन् । नदीमा ठूलो बाढी आउँदा बालबालिकालाई सिन्धुलीतर्फ नै राख्ने व्यवस्थापन समेत गाउँपालिका र विद्यालयले मिलाउँदै आएको छ ।
विद्यार्थी ओसारपसारका लागि सुनकोशीमा बोट चलाउन फिक्कल गाउँपालिकाले सुरुदेखि नै एक जना कर्मचारी राखेको छ । ओखलढुंगाको सुनकोशी गाउँपालिकाले पनि एक जना कर्मचारीको व्यवस्था गरिएको छ । नेपाल रेडक्रस सोसाईटीले २६ थान लाईफ ज्याकेट दिएको छ । तै पनि बालबालिकाहरु नदीमा झर्ने हुन की भन्ने जोखिम रहेको विद्यालयले जनाएको छ ।





















