सिन्धुली/‘सडक शिक्षा र विजुली फिक्कलको पूर्वाधार कृषि वन र पर्यटन समृद्धिको मूल आधार’ भन्ने मूल नाराका साथ माघ २ गतेदेखि फिक्कल गाउँपालिकाको केन्द्र खाङसाङवेशीमा फिक्कल महोत्सव २०७५ हुने भएको छ । फिक्कल गाउँपालिका कार्यालयको आयोजनामा हुन लागेको महोत्सव माघ ७ गतेसम्म चल्ने आयोजक फिक्कल गाउँपालिकाले जनाएको छ ।
स्थानीय पर्यटकीय स्थल र धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसार गरि पर्यटन विकासमा सघाउ पु¥याउने लक्ष्यका साथ गर्न लागिएको महोत्सवमा १ लाख पर्यटक भित्राउने आयोजकले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ । बुधबार खाङसाङमा भएको पत्रकार सम्मेलन गर्दै फिक्कल महोत्सव मूल आयोजक समितिका संयोजक पार्वति सुनुवारले स्थानीय कृषि उत्पादन, जडिबुटी, लघु उद्यमीहरुको उत्पादनलाई बढावा दिने गाउँपालिका भित्र ठूला उद्योग स्थापनाका लागि लगानी आकर्षित गर्ने, गाउँपालिका भित्र व्यवसायीक अवसरको वातावरण सृजना गर्ने, स्थानीय परम्परागत सिप कला र संस्कृतिको जगेर्ना गर्ने, कृषि, जडिबुटी र हस्तकलालाई व्यवसायीकरण गर्ने लगाएतका उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको बताईन ।
पत्रकार सम्मेलनमा बोल्दै उनले कृषि, पर्यटन, जडिबुटी र स्थानीय उत्पादन आदिको प्रचार प्रसार, धार्मिक तथा ऐतिहासिक धरोहरको अवलोकन तथा प्रचार, जातिय संस्कृतिको प्रदर्शनी, किवी र आलुको पकेट क्षेत्रको अवलोकन, जिल्लाकै अग्लो डाँडो फिक्कल डाँडाको दृश्यावलोकन, सुनकोशी नदिमा ¥याफ्टिङ र प्याराग्लाईडिङलाई महोत्सवको मुख्य आकर्षण बनाइने बताइन ।
उनले भनिन, ‘महोत्सवको मुख्य लक्ष्य नै सिन्धुलीमा पनि फिक्कल भन्ने ठाउँ छ भनेर चिनाउनु हो ।’ व्यापक प्रचारका माध्यमबाट फिक्कलको पहिचान बनाउन सबैलाई सहयोग गर्न समेत आग्रह गरिन । आन्तरिक तथा वाह्य पर्यटनलाई बढावा दिन महोत्सव गर्न लागिएको उनले जानकारी दिएकी छिन । उनका अनुसार महोत्सवले ५२ लाखको कारोवार गर्ने अनुमान गरिएको छ । यो महोत्सवमा नाफाको अपेक्षा समेत नगरिएको आयोजकले जनाएको छ ।




















