सिन्धुली । जुनारको राजधानी मानिएको जिल्लाको गोलन्जोर गाउँपालिका वडा नं. ४ तिनकन्यामा जुनार प्रवर्द्धन मेला हुने भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा जुनार प्रवर्द्धन गर्ने उद्देश्यले जुनार प्रवर्द्धन मेला गर्न लागिएको हो ।
कृषि विकास कार्यालय सिन्धुलीमा विहिबार भएको सरोकारवालाहरुको बैठकले मंसिर २३, २४ र २५ गते जुनार प्रवद्र्धन मेला गर्ने निर्णय गरेको हो । जुनारलाई प्रवद्र्धन गरि स्थानीय अर्थतन्त्र सुदृढ पार्ने र युवा उद्यमशीलता प्रोत्साहन गर्नका लागि मेलाको आयोजना गर्न लागिएको गाउँपालिका अध्यक्ष शंकरराज बरालले बताए ।
तीनकन्याको माझकुभिण्डेमा गर्न लागिएको जुनार मेलाले स्थानीय तह तथा कृषि क्षेत्रमा क्रियाशील निकायका प्रतिनिधिहरूले सिन्धुलीको पहिचान नै बनेको जुनार उत्पादनलाई थप गुणस्तरीय र व्यवसायीक बनाउन मेलाले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।
मेलामा जुनारको व्यवसायीकरण, जुनारमा देखा परेका रोग तथा किराको नियन्त्रणका लागि पनि सहयोग पुग्ने अपेक्षा गाउँपालिकाको रहेको छ ।
जुनार मेलाले पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । मेलाले जुनारको उत्पादन मूल्य, बजार पहुँच र अनुकूल नीतिका लागि किसान, स्थानीय तह र नीजि क्षेत्रबीच समन्वय बढाउने अपेक्षा लिएको गाउँपालिका अध्यक्ष बरालले बताएका छन ।
तिनकन्या, माझ कुभिण्डे लगाएतका आसपासका क्षेत्रलाई जुनार पर्यटनको सम्भावित गन्तव्यका रूपमा प्रवद्र्धन गर्न, किसान समूह, सहकारी, उद्योगी–व्यवसायी तथा युवालाई उत्पादन, वितरण, प्रशोधनमा जोड्न साझा मञ्च हुने अपेक्षा रहेको समेत बरालले बताए ।
उद्योग तथा वाणिज्य कार्यालय सिन्धुली, कृषि विकास कार्यालय सिन्धुली, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, गोलञ्जोरमा जुनार क्षेत्रको विकास र प्रवद्र्धनका लागि क्रियाशिल गैह्र सरकारी संस्थाहरु, सहकारीहरु तथा कृषक समूहको सहकार्यमा जुनार मेला गर्ने निर्णय भएको गोलञ्जोर गाउँपालिकाका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताए ।
उनले विहिबार मिति मात्र तय भएको र कार्यक्रमको व्यवस्थापकीय पक्षका बारेमा छलफल हुन बाँकी रहेको जानकारी दिए । मेलाले जुनारको उत्पादन र बजारीकरणमा सहयोग पुग्ने आशा गरिएको छ । महोत्सवमा सहभागि हुनेहरुलाई जुनारको बगैंचा समेत अवलोकन गराईने भएको छ ।




















